Logo
Logo

नख्खु-बुङमती सडक चैतसम्ममा नै सम्पन्न गर्न निर्देशन


252
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले निर्माणाधीन नख्खुबाट भैँसेपाटी हुँदै बुङमतीसम्मको सडक चैतसम्ममा सम्पन्न गर्न निर्देशन दिएकी छन् ।

आज सडकको अवलोकन गर्न पुगेका मन्त्री यादवले निर्माणस्थल खाली भइसकेकाले सो अवधिमा सम्पन्न गर्न समस्या नरहेको बताइन् । विस्तारका क्रममा रहेको सो सडकमा केही ठाउँमा निर्माणस्थल खाली हुन नसकेकाले ५÷६ वर्षसम्म काम नभएको उनले बताइन् ।

अहिले निर्माणस्थल खाली गरिसकिएकाले चैतसम्ममा सम्पन्न हुने उनको भनाइ छ । उनले भनिन्, ‘भिआइपी एरिया पनि भएकाले सबै सक्रिय भएर लाग्दा समयमा काम सकिनेछ ।’

विगतका वर्षहरुमा निर्माण सुस्त भए पनि आफूले मन्त्रालय सम्हालेपछि त्यहाँ रहेका अवरोध हटाएर निर्माणको वातावरण बनाउन लागेको मन्त्री यादवले बताइन् ।

उनका अनुसार केही समय पहिलेसम्म सडकमा नै घर, पर्खाल लगायतका संरचना थियो । त्यो हटाउनेसँगै सडकमा रहेका पाइप, ढल हटाइसकिएकाले अहिले काम द्रुत रहेको उनले बताइन् । सडकमा अरू अवरोध नभएको र यहाँको आयोजना र निर्माण व्यवसायी काम सकाउन प्रतिबद्ध रहेको बताइन् । उनले भनिन्, ‘अब सडकमा कालोपत्र मात्रै बाँकी भएकाले दुई महिनामा काम सकिन्छ ।’

सो सडक दुई ठेक्कामा निर्माण भइरहेकामा दुवै ठेक्कामा निर्माण अघि बढिरहेको छ । दुवै ठेक्कामा संलग्न निर्माण कम्पनीहरुलाई सडक चैतसम्म सक्न निर्देशन दिइएको छ ।

केही महिनादेखि मन्त्रालय टोली निर्माणाधीन सडकको अनुमगनका लागि खटिएको र ठाउँठाउँमा पुगेर त्यहाँको सडकको अवस्थाका बारेमा जानकारी लिइरहेको उनले बताइन् । कुनै पनि सडकमा सम्बन्धित प्रदेश र स्थानीय तहले पनि अनुगमन गर्नुपर्नेमा उनको जोड छ । उनले भनिन्, ‘कुनै पनि सडक हेरेर किन बनेन वा सडक बनाउँदाको समस्या बुझ्नुपर्छ, समन्वय हुँदा निर्माणमा संलग्नको पनि मनोबल बढ्छ ।’

निर्माणाधीन सडकमा पर्याप्त सङ्ख्यामा जनशक्ति र सामग्री भए समयमा सम्पन्न हुनसक्ने मन्त्री यादवले बताइन् । निर्माण कम्पनीले आवश्यकताअनुसार रातको समयमा पनि काम गराउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्