काठमाडौं । माओवादी केन्द्रका नेता तथा प्रतिनिधिसभा सदस्य सुदन किरातीले एमसीसीबारे जनमत संग्रह गर्नुपर्ने प्रस्ताव राखेका छन् । सोमबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेता किरातीले एमसीसी राष्ट्रिय स्वाधीनताको विषय बनेकाले यसलाई संसदको बहुमतले पास गर्नुभन्दा जनमत संग्रहमा लान माग गरेका हुन् ।
उनले एमसीसी अमेरिकाको इण्डो प्यासिफिक रणनीतिको अंग भएको भन्दै यसलाई त्यतिकै पास गर्न नहुने र मुलुकसमेत यसमा विभाजित भएकाले सबै पक्ष सम्मिलित गोलमेच सम्मेलन गर्नुपर्ने बताए । उनले भने, ‘एमसीसीविरुद्धमा जनता बोलिरहेका छन् । राम्रो भन्ने हो भने गोलमेच सम्मेलन गरौं या एमसीसीबारे जनमतसंग्रह गरौं न त । या एमसीसीबारे हामी सबैले एकमत कुरा गरौं ।’
किरातीले प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालले असोज १३ गते लेखेको पत्र असोभनीय भएको पनि बताए । ‘उताबाट एउटा सहसचिवले लेख्छ यताबाट बहालवाला प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीले पत्र लेख्छन्, यो शोभनीय भएन ।’ उनले भने ।
नेपालमा शीर्ष पदमा रहेकाहरूले आफ्नो पदीय मर्यादा पूरा नगरिरहेको किराँतीको भनाइ थियो । उनले बहालवाला प्रधानमन्त्री खुफिया एजेन्सीको प्रमुखसँग घण्टौ वार्ता गर्ने, शीर्ष पदमा पुगेकाहरू विवादित विषयमा नबोलिरहेको बारेमा पनि शंका उत्पन्न भएको उनले बताए ।