काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली आज (मंगलबार) ओमान प्रस्थान गर्दैछ । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोटमा सहभागी हुन ओमन प्रस्थान गर्ने भएका हुन् ।
विश्वकपमा छनोट हुने लक्ष्य बोकेको नेपाली टोली मंगलबार राति ८ बजे ओमान प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
ग्लोबल छनोटमा नेपालसहित आयोजक ओमानसहित, फिलिपिन्स, क्यानाडा, युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन्। छनोटका खेल फेब्रुअरी १८ देखि २४ तारिखसम्म हुँदैछ ।
छनोट चरणको समूह ‘ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन् । समूह ‘बी’ मा युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् । नेपालले छनोट चरणको पहिलो खेल ओमानविरुद्ध खेल्दै छ ।
नेपाल र ओमानबीचको खेल फेब्रुअरी १८ तारिखमा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ । नेपालको दोस्रो खेल फेब्रुअरी १९ मा फिलिपिन्सविरुद्ध अल अमेरात क्रिकेट ग्राउन्डमा हुनेछ ।
नेपालले तेस्रो खेल क्यानाडाविरुद्ध फेब्रुअरी २१ मा खेल्ने तालिका रहेको छ ।
फाइनल भने फेब्रुअरी २४ तारिखमा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुने भएको छ । छनोटको फाइनल प्रवेश गर्ने दुबै टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि छनोट हुनेछन् ।
छनोट अघि नेपालले ओमानमा चारदेशीय टी–ट्वान्टी सिरिज खेल्ने क्यानले जनाएको छ। सिरिजमा नेपालसहित आयरल्यान्ड, युएई र ओमान रहेका छन् ।