काठमाडौं । विदेशमा रहेका नेपालीहरुले यो पटक पनि स्थानीय तहको निर्वाचनमा मतदान गर्न नपाउने भएका छन् । विगतमा भएका निर्वाचन जस्तै यसपटक पनि विदेशमा रहेका नेपालीले मतदान गर्न नपाउने भएका हुन् ।
निर्वाचनको समय अपुग भएकाले वर्तमान कानुनी व्यवस्थाअनुसार विदेशमा रहेका नेपालीले त्यहीँ बसेर आफ्नो मताधिकार प्रयोग गर्न नपाउने प्रमुख निर्वाचन आयुक्त दिनेश थपिलियाले बताए । सरकारले स्थानीय तहको निर्वाचन बैशाख ३० गते एकैचरणमा गर्ने घोषणा गरिसकेको छ ।
विगतका निर्वाचनदेखि नै विदेशमा रहेका नेपालीले मतदान प्रकृयामा सहभागी हुन पाउने या नपाउने विषयमा बहस चलेको थियो । हालसम्म पनि कानुनमा यो व्यावस्था नभएकाले विदेशमा रहेका नेपालीले मतदान गर्न नपाउने भएका हुन् ।
कानुनअनुसार निर्वाचनको तयारीका लागि १ सय २० दिन चाहिन्छ । तर चुनाव आउन अब ९५ दिन मात्रै बाँकी छ । यसै कारण समय कम भएकाले कतिपय प्रक्रिया फास्ट ट्र्याकबाट काम गरिने आयुक्त थपिलियाको भनाई छ ।
वैशाख ३० गते सरकारले एकैपटक स्थानीय तहको निर्वाचन गर्ने मिति तोकेपछि निर्वाचन आयोगले तयारी थालेको छ । आजदेखि मतदाता नामावली अद्यावधिक गर्ने काम सुरु हुनेछ । ७७ वटै जिल्लामा सङ्कलित नामावली अद्यावधिक गरेर ७ सय ५३ वटै पालिकामा पठाउने आयोगको तयारी छ ।
२०७४ सालको निर्वाचन भन्दा यसपालि झण्डै २० लाख मतदाता थपिने सक्ने अनुमान गरिएको छ । निर्वाचनमा एक करोड ८० लाखको हाराहारीमा मतदाता पुग्ने बताइन्छ । यसपालि चुनावमा १२ अर्ब खर्च हुने निर्वाचन आयोगले अनुमान गरेको छ ।