काठमाडौं । कमाई हुने गणमा सरुवा नभएपछि सशस्त्र प्रहरी बलका एक एसपीले चेन अफ कमाण्डलाई नै चुनौती दिदै सरुवा भएको कार्यालय जान अस्वीकार गरेका छन् । पशुपति बाहिनीमा कार्यरत एसपी समिक कुमार महर्जनले जिम्मेवारी नसम्हालेका हुन् ।
उनलाई गत २५ पुसमा सशस्त्र प्रहरी मुख्यालयले ३८ नम्बर रिजर्भ गण झापा सरुवा गरेको थियो । तराईका अन्य जिल्लाको गण मागेकोमा रिजर्भ गणमा सरुवा भएको भन्दै उनी जान नमानेको स्रोत बताउँछ । स्टाफ कलेज दरबन्दी भइ हाल उपत्यका स्थित ९ नम्बर पशुपतिनाथ बाहिनीमा कार्यरत उनले कमाई नहुने गणमा नजाने भन्दै रमाना नलिएका हुन् । उनी मधेस प्रदेशको जिल्लामा जान चाहेका थिए ।
तर, प्रयास असफल भएपछि सरुवा भएको एक महिनासम्म बाहिनीमै बसेका छन् । चाहेको गणमा सरुवा नभएको रिस उनले बाहिनीका कर्मचारीमाथि पोख्ने गरेका छन् । आउटीङमा जाने कर्मचारीलाई उनले अनेक बहानामा दुःख दिन थालेका छन् । डिआइजी बंशी दाहालसम्म उनको बारेमा कर्मचारीले गुनासो गर्न थालेका छन् ।