काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि तयारी थालेको छ । सरकारले बैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने घोषणा गरेपछि आयोगले तयारी थालेको हो ।
आयोगले केही दिनमा स्थानीय तहको निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ ।
हाल आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक, निर्वाचन कार्यालय स्थापना, निर्वाचन अधिकृत नियुक्तिदेखि निर्वाचनसम्मका कार्यक्रम समेटिने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताएका छन् ।
साथै कार्यतालिकामा उम्मेदवारी दर्ता, दाबी विरोध, चुनाव चिह्न प्रदान, चुनाव र मतगणनासम्मको कार्यक्रम हुनेछ ।
मतदाता नामावलीलाई अन्तिम रूप दिने, निर्वाचन कार्यतालिका बनाउने तथा निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने सामग्री खरिदको प्रक्रियासमेत अगाडि बढेको उनले बताए ।
चुनावका लागि आवश्यक पर्ने भवन, गाडी, फर्निचर वा अन्य भौतिक साधनको अवस्था र व्यवस्थापनको प्रक्रिया समेत सुरु भैरहेको थपलियाको भनाई छ ।