Logo
Logo

कास्कीमा गठबन्धन बैठक : स्थानीय तहको निर्वाचनमा मिलेर जाने सहमति


16k
Shares

पोखरा । कास्कीमा सत्तारूढ पाँच दलीय गठबन्धनबीच आगामी स्थानीय तहको निर्वाचन वडासम्मै मिलेर जाने समझदारी भएको छ । मंगलबार बसेको गठबन्धन दलका कास्की प्रमुखहरूको बैठकले निर्वाचनमा वडासम्मै मिलेर जाने समझदारी गरेका हुन् ।

नेकपा एमालेको गढ मानिने कास्कीमा २०७४ को स्थानीय तहको निर्वाचनमा अधिकांश ठाउँमा एमाले उम्मेदवारले जितेका थिए । त्यस्तै, संसदीय निर्वाचनमा समेत प्रदेशसभाको एउटा क्षेत्रबाहेक एमालेले जितेको थियो । प्रतिनिधिसभा सदस्यमा कास्कीका ३ वटै निर्वाचन क्षेत्रमा एमाले उम्मेदवार विजयी भएका थिए ।

गत स्थानीय निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेको माओवादीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेसँग गठबन्धन गरेको थियो ।

सरकारले सोमबार स्थानीय चुनावको मिति घोषणा गरेसँगै जिल्ला जिल्लामा गठबन्धनले निर्वाचन सम्बन्धी छलफल बढाएको छ । सोहीक्रममा मंगरबार कास्कीमा गठबन्धनका नेताहरूबीच बैठक बसेको नेकपा एकीकृत समाजवादीले जनाएको छ ।

एकीकृत समाजवादीका कास्की जिल्ला अध्यक्ष धनराज आचार्यका अनुसार मंगलबार बसेको गठबन्ध्न बैठकमा वडा तहसम्मै गठबन्धन बनाउने सहमति भएको हो । कगठबन्धनले ७७ वटै जिल्लामा बैठक बस्न केन्द्रले सर्कुलर गरेको उनले बताए ।

सरकारले आगामी वैशाख ३० का लागि स्थानीय निर्वाचनको मिति तोकेको छ । जसको गठबन्धनले स्वागत गर्ने र निर्वाचनमय वातावरण बनाउने निर्णय गरेको कास्की कांग्रेसका सचिव भानु ढकालले बताए ।

बैठकमा कास्की कांग्रेसका सभापति किशोरदत्त बराल, माओवादी केन्द्र कास्कीका अध्यक्ष बखानसिंह गुरूङ, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष धनराज आचार्य, जनता समाजवादी पाटीका अध्यक्ष गिरिप्रसाद गुरूङ र राष्ट्रिय जनमोर्चा कास्की अध्यक्ष रविमोहन ढकाल सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्