Logo
Logo

जयनन्द लामा भन्छन्, ‘मसँग जीवनभर गाएर नसक्ने गीत छन्’


2k
Shares

काठमाडौं । बरिष्ठ लोकगायक जयनन्द लामाले दुई दशक लामो अन्तरालपछि मौलिक लोकगीत गाएर सार्वजनिक गरेका छन् । गायक लामाले ‘महाभार लेकको जंगलमा याला’ बोलको लोकगीत युट्यबमार्फत सार्वजनिक गरेका हुन् ।

गायक लामाकै शबद र संगीत रहेको उक्त लोकगीतमा उनका साथमा दीपा लामाले गाएका छन् । बाबु जिम्बा, आरबी लामा, दाबा फिन्जो तामाङ, शशिकला मोक्तान र अञ्जु थोकरले जयनन्द र दीपालाई समूह गायनमा साथ दिएका छन् । लोकगीतमा संगीत संयोजन छेवाङ तेन्जिङ लामा र मिक्सिङ कारसाङ लामाको रहेको छ ।

छम छम नाच्न मिल्ने गीतमाथि आकर्षक भिडियो तयार पारिएको छ । केही समयअघि ल्होसारको अवसर पारेर सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोमा कलात्मक र सांस्कृतिक नृत्य प्रस्तुत गरिएको छ ।

इन्द्र गुरुङद्वारा निर्देशित म्युजिक भिडियोमा गायक स्वयं जयनन्द लामाका साथमा डोमा ह्योल्मो, दावा फिन्जो तामाङ, बाबु जिम्बा, श्याम माया गुरुङ, सकु तामाङ र कोरस कलाकारले नृत्य गरेका छन् । सेवा फिल्म्स्को दृश्य निर्माण र सुरेन्द्र थिङको निर्माणमा बनेको म्युजिक भिडियोको छायाँकन मरुभूमि नारायण र सम्पादन बाबु जिम्बाले गरेका छन् ।

‘यो मैले ३० वर्षअघि नै संकलन गरेको गीत हो । जो पहाडी र हिमाली श्रृंखलाको बिचमा बस्ने सम्पूर्ण नेपालीको पूरानो र मौलिक परम्परागत गीत हो’ गीतका बारेमा जानकारी दिँदै गायक लामाले भने ‘यो कुनै जात विशेषको गीत नभई ती भेकमा हरेक चाड पर्वमा पुर्खादेखि अहिलेसम्म पनि नाच्दै गाइने गीत हो ।’

उनले लगानीकर्ताको अभावमा त्यतिखेर संकलन गरेको गीत अहिले आएर पार्टनर खोजेर र आफैँले पनि लगानी गरेर गाएको बताए । यसरी संकलन गरेका विभिन्न भेकका मौकिल र परम्परागत गीत आफूसँग अरु पनि रहेको बताए । उनले भने, ‘जुन दैनिक रेकर्ड गरेर पनि बाँचुञ्जेल गाएर सकिन्नं ।’

पाँच दशकअघि गायन यात्रा शुरू गरेका लामाले लोकगीत, दोहोरी, गीति नाटक गरी दुई सयभन्दा बढी गीत गाएका छन् । गायक लामाले पछिल्लो समयमा फिल्मी अभिनयमा समेत लोकप्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्