काठमाडौं । आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचन तयारीबारे अर्थमन्त्री जनार्दन शर्मा र गृहमन्त्री बालकृष्ण खाँणबीच छलफल भएको छ ।
अर्थमन्त्री शर्मा र गृहमन्त्री खाँणबीच निर्वाचन तयारीबारे बुधबार गृह मन्त्रालयमा छलफल भएको हो । छलफलमा निर्वाचन लक्षित बजेटमा पनि विशेषगरी सुरक्षा निकाय (नेपाल प्रहरी र सशस्त्र प्रहरी)का लागि आवश्यक सवारी साधन र बन्दोबस्तीका सामानबारे कुराकानी भएको नीति, योजना, अनुगमन तथा मूल्याँकन महाशाखा प्रमुख सहसचिव डा भीष्मकुमार भुसालले जानकारी दिए ।
सहसचिव डा भुसालका अनुसार अब गृह मन्त्रालयले बिहीबारसम्म चालुतर्फको समेत बजेट यकिन गरेर अर्थ मन्त्रालयमा पठाउनेछ । छलफलमा गृहसचिव टेकनारायण पाण्डे, अर्थसचिव मधु मरासिनीसहित गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख सहसचिव मुकुन्द निरौलालगायतको सहभागिता थियो ।
अर्थमन्त्री शर्माले निर्वाचनमा अर्थ मन्त्रालयलाई परेको चापबारे अवगत गराउँदै अत्यावश्यक र गर्नैपर्ने विषयबारे जानकारी गराउन आग्रह गरेका छन् । गृहमन्त्री खाँणले अर्थ मन्त्रालयलाई परेको दबाबबारे गृह मन्त्रालय सचेत रहेको र नभई नहुने विषयवस्तुबारे अवगत गराइने जानकारी दिए ।
निर्वाचन आयोगसँगको परामर्शपछि सरकारले आउँदो वैशाखमा ३० गतेका लागि स्थानीय तहको निर्वाचन मिति तय गरेको हो । आयोगले निर्वाचनका लागि अर्थमन्त्रालयसँग खर्चको विवरण पेश गर्ने तयारी गरेको छ ।