काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले स्थानीय तहका पदाधिकारीको कार्यकाल नसकिँदै निर्वाचन गर्न लागेको भन्दै आपत्ति जनाएको छ ।
लोसपा नेपाल मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले बुधबार विज्ञप्ति जारी गर्दै स्थानीय तहको पदाधिकारीको पाँच वर्षको पदावधि संविधानको धारा २१५ को ६, २१६ को ६ र २२० को ५ अनुसार हुने भनिएको र कुनै निर्वाचित पदाधिकारीको कार्यकाल एकदिन पनि तलमाथि गरिनु संविधानको मर्म र भावनाविपरित हुने जनाएको हो ।
अघिल्लो स्थानीय तहको निर्वाचन तीन चरणमा भएको थियो । पहिलो चरणमा २०७४ बैशाख ३१ गते, दोस्रो चरण असार १४ गते र तेस्रो चरण असोज २ गते भएको थियो । वैशाख ३१ गते भएको पहिलो चरणको निर्वाचन संविधानअनुसार नै भइरहेपनि असार १४ गते भएको दोस्रो चरणको चुनावभन्दा डेढ महिनाअगाडि नै निर्वाचन घोषणा गरिएकामा लोसपाले सरकारलाई ध्यानाकर्षण गराएको हो ।
साथै, असोजमा स्थानीय तहको निर्वाचन गर्न समेत सरकारसँग आग्रह गरेको छ ।