Logo
Logo

चुरेको दुर्दशा : हिउँदे झरीमा पनि गाउँपालिका जाने सडक हिलाम्मे, सेवाग्राहीलाई सास्ती


378
Shares

अलाड । सडक निर्माणको कार्यले तिब्रता नपाँँदा र वर्षातको बेला विकास निर्माण गर्ने परिपाटीले चुरेका जनताले सास्ती खेप्नु परेकै थियो । तर, यो हिउँदामा पनि चुरेबासी जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । माघको २० गतेदेखि तीन दिनसम्म परेको हिउँदे वर्षाले उनीहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।

वर्षातको समयमा जोखिमपूर्ण हुने चुरे क्षेत्रका ती सडकहरु यो वर्ष हिउँदमा पानी पर्दा पनि जोखिमपूर्ण बनेको स्थानीयहरु बताउँछन । विकास निर्माणका नाममा वर्षातको बेला बजेटको हिनामिना गर्ने र कमाउ धन्दाले निर्माण गरिएका सडकहरुको कामले हिउँद सकिनै लाग्दा पनि तिब्रता नपाउँदा सामान्य झरी पर्दा पनि जोखिमपूर्ण बन्ने गरेको स्थानीयको भनाइ छ ।

स्थानीयका अनुसार हिउँदको झरीले कैलालीको दुर्गम पहाडि चुरे गाउँपालिका कार्यालय जाने छ किलोमिटर सडक यात्रुहरुका लागि जोखिमपूर्ण बनेको छ । असारे विकासको चटारोले निर्माण गर्न सुरु गरिएको चुरे गाउँपालिका कार्यालय जाने सहजपुर–घरखेडा सडकको निर्माण कार्य वर्षात सकिएपछि रोकिएको नेपाली कांग्रेस चुरे गाउँपालिका वडा नम्बर १ का सभापति डम्मरबहादुर सिंहले बताए ।

उनले भने, ‘बजेट निकास गर्नको लागि जनप्रतिनिधि र कर्मचारीसंगको मिलोमतोमा असार–साउनको महिना सडक निर्माणको कार्य सुरु गरिएको थियो । तर, हिउँदको महिना भने निर्माण कार्य रोकिएको छ । यसले जनप्रतिनिधि र कर्मचारीहरु भ्रष्टाचारमा तल्लिन भएको देख्न सकिन्छ ।’

अहिले हिउँदे वर्षाले चुरेका प्रायः सडकहरु हिलाम्मे भएका छन् । जसले गर्दा चुरेबासीदेखि लिएर चुरे गाउँपालिकामा विभिन्न कामका लागि आउनेहरु सडकको अवस्था देखेर कामनै नगरी फर्किनु पर्ने बाध्यता छ । भने कतिपय स्थानीयहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।
असारे चटारोमा चुरे गाउँपालिका कार्यलय जाने छ किलोमिटर सडक निर्माण हुँदै थियो । तर, उक्त निर्माणाधीन सडकको वरिपरी नाला व्यवस्थापन नहुँदा सामान्य वर्षामा पनि सडक हिलाम्य हुने गरेको नेकपा माओवादी चुरे गाउँपालिकाका सचिव टेकेन्द्र बमले बताए । जसले गर्दा हिउँदको महिना पनि सेवाग्राहीदेखि लिएर अन्य यात्रुहरुले जोखिमपूर्ण यात्रा गरिरहनु परेको छ ।

कैलाली जिल्लाको दुर्गम पहाडी गाउँपालिका चुरेको कार्यालय सहजपुरबाट छ किलोमिटर टाढा रहेको छ । गाउँपालिका जाने छ किलोमिटरको सडक निर्माण समयमै नगरिँदा सामान्य झरीमा पनि हिलाम्य र गर्मीको समयमा धुलाम्मे हुने गरेको उनले बताए ।

हिउँदको झरीमा पनि ज्यानको बाजी

चुरे गाउँपालिका वडा नम्बर ६ का स्थानीय धनबहादुर कठायत गाउँपालिकामा सिफारिस लिन आइतबार घरबाट निस्किए । केही समयमै सकिने सामान्य कामका लागि उनले दुई दिन कुर्नु पर्याे । कारण हो, गाउँपालिकासम्म जाने निर्माणधिन
सडक ।

‘हिउँदे झरीले गर्दा गाउँपालिका कार्यालय जाने सडक हिलाम्य भएपछि गाडी चल्न सक्ने अवस्था छैन, हिँडेरै आए’ उनले भने, ‘आइतबार बिहान ५ बजे घरबाट हिँडेका थियौँ, तर साँझ मात्रै सहजपुर पुग्यौँ, त्यहाँबाट ज्यानको बाजी राखेर हामी चिप्लो बाटमै हिँडेरै फेरि गाउँपालिका कार्यालय पुगौँ तर त्यहाँ सबै काम सकिएन, त्यो रात हामी घरखेडामै बस्यौँ, सोमबार बिहान मात्रै काम भयो, अहिले घर फर्किँदै छु ।’

बाटोको कारण निकै सास्ती भएको उनले गुनासो गरे । उनले भने, ‘असारे चटारोमा काम सुरु गरिएको सडकको अहिले हिउँदको सामान्य झरीमा पनि अवस्था निकै दयनीय छ, सडकमा ग्राभेल हालिदिए पनि धेरै राहत हुनेथ्यो ।’

सडकका कारण सेवा लिन निकै समस्या भइरहेको अर्का सेवाग्राही मनोज थापाले दुखेसो पोखे । उनले भने, ‘सडकका कारण हामी अलपत्र पर्यौँ, कुनै ठाउँमा हिलो छ, कतै ढुंगा त कतै खाडलहरू छन्, दुई घण्टा हिँडेर गाउँपालिका पुग्यौँ, तर बाटोमै पानी पर्योे, ओत लाग्ने ठाउँ पनि पाएनौँ,’ उनले थपे, ‘सडक धेरै हिलाम्मे र चिप्लो छ, यो त पहाडी क्षेत्र हो सडकबाट खसेपछि बाँच्ने सम्भावना निकै कम हुन्छ, हामीले यस्तो जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छौँ, अनि हामीले घरघरमा सिंह दरवार आएको कसरी महसुस गर्ने ?’

चालु आर्थिक वर्षको अन्त्य असार (वर्षात)मा मात्रै सडकमा डोजर चलाउँदा झन् समस्या भएको चुरेबासीको गुनासो रहेको छ । आर्थिक वर्ष सकिने बेला काम गरे जस्तो गर्ने परिपाटीले स्थानीयहरुले सास्ती खेप्नु परेको छ ।

योजना फुत्किन नदिन काम गरे जस्तो गर्ने र ठेकेदारसँग जनप्रतिनिधिको मिलेमतोमा असार महिनामा भ्रष्टाचार गर्ने उदेश्यले काम गर्ने गरेको आरोप स्थानीय जनप्रतिनिधिहरुलाई लाग्ने गरेको छ । र, बजेट अनुसारको काम पनि नहुने स्थानीयहरुले बताउने गरेका छन् ।

म्याद सकिएको ७ महिनासम्म कार्य प्रगति ३० प्रतिशत मात्रै

२०७६ मा गाउँपालिकाले बझाङको जागृति निर्माण सेवासँग आठ किलोमिटर कालोपत्रे सडक निर्माणका लागि तीन करोड ६४ लाखमा ठेक्का सम्झौता भयो । दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरिए पनि म्याद सकिएको सात महिना पुगिसक्दा हालसम्म आयोजनाको ४० प्रतिशत काम पनि पुरा भएको छैन ।

बजेट अनुसारले काम १४ किलोमिटको सडक निर्माणसंगै कालोपत्रे हुनुपर्ने हो । र, समयमै काम सकिनुपर्ने हो । तर, ठेक्का सम्झौता सकिएको सात महिना बितिसक्दा पनि ४० प्रतिशत काम नभएको चुरे गाउँपालिकाका एक जना कर्मचारीले बताए ।

निर्माण कम्पनीको चरम लापरवाही र प्राविधिक त्रुटिका कारण सडक निर्माणमा ढिलाइ भएको इन्जिनियर उमेश जोशीले बताए । आठ किलोमिटर सडकका लागि सम्झौता भएको हो । ‘हामीले गाउँपालिका कार्यालयसम्म पुग्ने गरी सडक बनाउन खोजेका हौँ, त्यसमा प्राविधिक त्रुटि पनि भएको छ’, उनले भने । प्राविधिक त्रुटीले गर्दा तीन किलोमिटर पनि काम नभएको बताउँदै जोशीले म आउनु भन्दा पहिला नै सम्झौता भइसकेको थियो, छिटो काम सक्न निर्माण कम्पनीलाई झकझकाइरहेका छौँ, तर म्याद सकिएको सात महिना भइसकेको बताए ।

ठेकेदारको चरम लापरबाहीका कारण सेवाग्राही र जनप्रतिनिधि सबैले सास्ती पाएको उनले बताए । उनले भने, ‘निर्माण कम्पनीले बदमासी गर्याे, दोष हामीमाथि छ’, उहाँले भन्नुभयो, ‘हामीले पटक–पटक ताकेता गर्दा पनि काम निर्मा कम्पनीले वास्तानै गर्दैन ।’

प्रतिक्रिया दिनुहोस्