विराटनगर । मोरङको पथरीशनिश्चरेमा बुधबार दिउँसो दुर्घटना हुँदा नेपाल प्रहरीका एक जना हवल्दारको मृत्यु भएको छ भने अर्का एक जना हवल्दार गम्भीर घाइते भएका छन्। मृतक र घाइते दुवै जना सप्तरीमा कार्यरत रहेको खुलेको छ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ख ८५७८ नम्बरको ट्रकले पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०४७ प ८६६७ मोटरसाइकललाई पूर्व–पश्चिम लोकमार्गअन्तर्गत पथरीशनिश्चरे नगरपालिका–२ जय चोकमा ठक्कर दिदाँ दुर्घटना भएको हो।
दुर्घटनालगत्तै मोटरसाइकलमा आगलागी भएको थियो। आगलागीका कारण मोटरसाइकल जलेर पूरै ध्वस्त भएको छ। दमकलको सहयोगले आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार दुर्घटनामा परेर मोटरसाइकल चालक प्रहरी हवल्दार ३८ वर्षीय बसन्त बोहोराको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएपछि उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याउनसाथ उनको मृत्यु भएको श्रेष्ठले बताए।
झापाको लखनपुर घर भएका बोहोरा सप्तरीको राजविराजस्थित उच्च अदालतमा कार्यरत थिए। मोटरसाइकलमा अचानक लागेको आगोले उनको शरीरका विभिन्न भाग पनि जलेको डीएसपी श्रेष्ठले बताए।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार हवल्दार ३९ वर्षीय दानबहादुर योगी गम्भीर घाइते भएका छन्। गम्भीर अवस्थाका उनको नोबेल अस्पतालमै उपचार हुँदैछ। भोजपुरको भोजपुर नगरपालिका–१ टक्सार घर भएका योगी सप्तरीको प्रहरी चौकी फत्तेपुरमा कार्यरत रहेको डीएसपी श्रेष्ठले बताए।