जनकपुर । मधेस प्रदेशसभामा प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्ताव पेश भएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सो सङ्कल्प प्रस्ताव पेश गरेका हुन् ।
सङ्कल्प प्रस्ताव पेश गर्दै मन्त्री साहले प्रदेश प्रहरी ऐन कार्यान्वयन गर्न सङ्घीय सरकारलाई दबाब दिने उद्देश्यले सो सङ्कल्प ल्याएको बताए । मधेस प्रदेश सरकारलाई प्रदेश प्रहरी गठन, सञ्चालन र भर्नामा सङ्घीय सरकारले अवरोध गरेकाले प्रदेशसभामा सङ्कल्प प्रस्ताव ल्याएको मन्त्री साहले जानकारी दिए ।
आफूले संविधान पाए पनि मधेसको दृष्टिकोणले पूर्ण संविधान नपाएको उल्लेख गर्दै मन्त्री साहले संविधानले अधिकारको अनुसूचीमा पहिलो नम्बरमा सुरक्षाको अधिकारको जिम्मा प्रदेश सरकारलाई दिएको भए पनि सङ्घीय सरकार सो अधिकार दिन नचाहेकाले सङ्कल्प प्रस्ताव ल्याउनुपरेको उल्लेख गरे ।
धेरै समयअघि प्रदेश सरकारले प्रहरीसम्बन्धी ऐन बनाइसकेपछि सङ्घीय सरकार प्रहरी समायोजन, भर्ना लगायतमा अवरोध गर्दै आएको मन्त्री साहले गुनासो गरे । यही माघ २३ गते मन्त्री साहले प्रदेशसभामा उक्त सङ्कल्प प्रस्ताव दर्ता गराएका थिए । सरकारले पेश गरेको सङ्कल्प प्रस्तावमाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यले सङ्घीय सरकारले अझै अधिकार दिन नचाहेकाले सङ्कल्प प्रस्ताव सर्वसम्मतबाट पारित गरी दबाब दिनुपर्ने बताएका छन् ।