काठमाडौं । भुटानबाट लखेटिएका शरणार्थीहरुका अनगन्ती कहानीहरु छन्। दुःखका अनैकौं शृंखला छन् । मुटुमा गाठो परेर बसेका ति कथाहरु पुनर्वास प्रक्रियाबाट अमेरिका पुगे पश्चात साहित्य, संगीत र सिनेमा मार्फत प्रस्तुत भैरहेका छन् ।
भुटान सरकारले निर्वासित गरेका एक सैनिक अधिकारीको जीवनीमा आधारित वृत्तचित्र ‘कुन हो मेरो देश’को ट्रेलर भर्खरै सार्वजनिक गरिएको छ । यो वृत्तचित्र ऐतिहासिक व्यक्तित्व भूतपूर्व क्याप्टेन बुद्ध बिर सुब्बाको वास्तविक जीवन भोगाइको घटनामा आधारित छ ।
क्याप्टेन सुब्बाले देशको सार्वभौमिकताको लागी जीवनभर परिश्रम गरे र सबैकुरा दिए र तर अन्त्यमा कसरी तत्कालिन भुटान सरकारले उनलाई निर्वासित गर्यो भन्ने कुराको रहस्य उद्घाटन स्वयम् क्याप्टेन सुब्बा र उनका परिवारजनले यस वृत्तचित्र मार्फत गरेका छन् ।
फ्याम्ली प्रोडक्शनको निर्माणमा तयार पारिएको यस वृत्तचित्र नेपालीभाषी भुटानी शरणार्थी जीवनका बारेमा बुझ्न चाहाने जोकोहीले एकपटक हेर्नेपर्ने हुन्छ । बि एम खालिङको खोज र लेखन रहेको यस वृत्तचित्रमा गायक एवम् संचारकर्मी रविन शर्माको न्यारेशन रहेको छ ।
कमल राईको छायाँकन र सम्पादन रहेको यस वृत्तचित्रलाई राजु सुब्बाको कन्सेप्टमा तयार पारिएको हो। असल टिभी ‘ASALL TV ‘ नामक युट्युव च्यानल मार्फत ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर अंग्रेजी र नेपाली भर्सनमा सार्वजनिक गरिएको छ। पुरा वृत्तचित्र छिट्टै नै सार्वजनिक गरिने निर्माण टिमले बताएको छ ।