Logo
Logo

‘द्वन्द्वकालीन मुद्दाको नाममा सभामुखमाथि आक्रमण प्रतिक्रियावादी षड्यन्त्र’


7.1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले द्वन्द्वकालीन मुद्दा उछालेर सभामुख अग्निप्रसाद सापकोटामाथि भइरहेको आक्रमणलाई गम्भीर प्रतिक्रियावादी षड्यन्त्र भएको बताएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वकीय सचिव रमेश मल्लले बुधबार एक भनाइ सार्वजनिक गर्दै सभामुख सापकोटामाथिको आक्रमणलाई गम्भीर षड्यन्त्र भनेका छन् । उनले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त संघीयता र लोकतान्त्रिक गणतन्त्रसहितका उपलब्धि ध्वस्त बनाउन केही समूह शुरुदेखि नै क्रियाशील रहेको पनि दाबी गरेका छन् ।

‘जनयुद्ध, जन-आन्दोलन, विस्तृत शान्ति सम्झौता, संविधानसभा, संघीय लोकतान्त्रिक गणतन्त्र हुँदै नयाँ संविधानमार्फत संस्थागत हुदै गरेको नेपालको राजनैतिक परिवर्तनलाई ध्वस्त पार्न शुरुदेखि नै एकथरी शक्तिहरु सक्रिय रहँदै आएका थिए र छन्’, उनले भनेका छन्, ‘जनप्रतिनिधिमूलक संस्थामाथि प्रहार गरेर जन्मिएको प्रतिगमनलाई परास्त गरि आज मुलुक पुनः निर्वाचनको प्रक्रिया हुँदै शान्ति र संविधानलाई नयाँ उचाइमा क्रियाशील गर्न सक्रिय रहेको बेला सत्य निरुपण तथा मेलमिलाप आयोगको क्षेत्राधिकारका द्वन्द्वकालीन मुद्दा उचालेर सभामुखमाथि आक्रमण गर्नु प्रतिक्रियावादी षडयन्त्रको गम्भीर अभिव्यक्ति हो ।’

माओवादीले सभामुखविरुद्धको यस्तो कदम शान्ति, संविधान र समृद्धिको नेपाली मौलिक बाटो ध्वंस पार्ने षड्यन्त्र भएको पनि जनाएको छ । ‘यो कार्य शान्ति, संविधान र समृद्धिको नेपाली मौलिक बाटोलाई ध्वंस गर्ने, परिवर्तनको मार्गबाट देशलाई विचलित गराउने र मुलुकलाई बहुआयामिक द्वन्द्वतिर धकेल्ने उद्देश्यद्वारा प्रेरित छ’, उनले भनेका छन्, ‘यो विषय सामान्य छैन । यो राष्ट्रिय सीमाबाट मात्र निर्देशित पनि छैन ।’

मल्लले यो षडयन्त्रले लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिलाई विभाजित गर्ने, क्रान्तिकारी जनसमुदायलाई अलगावमा पार्ने र देशलाई परिवर्तनको मार्गबाट पछाडि धकेल्न चाहिरहेको पनि बताएका छन् । ‘यसबाट उत्पन्न हुने दूरगामी परिणामको आंकलन गरी नियोजित रूपमा खडा गरिएका षड्यन्त्रका तानाबानाको अझ बढी एकतावद्ध भइ जमेर प्रतिवाद गरौं’, उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्