Logo
Logo

प्रचण्डसँग शेखरले भने, ‘स्थानीय निर्वाचनमा कांग्रेसले कुनै दलसँग गठबन्धन गर्दैन’


3k
Shares

काठमाडौं । सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ । बिहीबार बिहान नेता कोइराला प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् । उनीहरुबीच एमसिसी र स्थानीय तहको निर्वाचनमा गठबन्धनबारे छलफल भएको बताइएको छ ।

कांग्रेस नेता अमरेशकुमार सिंहका अनुसार कोइरालाले कांग्रेस माओवादी वा अरू कुनै पनि दलसँग गठबन्धनमा जान नसक्ने स्पष्ट पारेका छन् । नेता कोइरालासँग अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर सहयोग गर्न आग्रह गरेका थिए । तर, कोइरालाले कांग्रेसले गठबन्धन नगर्ने आफ्नो धारणा राखेका थिए । कांग्रेस एक्लै निर्वाचनमा जाने कोइरालोको स्पष्ट आशय थियो ।

यस्तै, कोइरालाले एमसिसीको बारेमा राष्ट्रिय सहमति जुटाउन प्रचण्डलाई आग्रह गरेका छन् । नेता सिंहका अनुसार राष्ट्रिय सहमति जुटाएर संसद खुलाउन पहल गर्न समेत कोइरालाले आग्रह गरेका छन् ।

यसअघि कोइरालाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटमै पुगेर भेटेका थिए । सो भेटमा पनि उनीहरुबीच एमसीसी र स्थानीय तहको निर्वाचनबारे छलफल भएको कुरा बाहिर आएको थियो ।

सत्तारुढ पाँच दलीय गठबन्धन रहेकामध्ये नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी अनुमोदन गर्नु पर्ने पक्षमा रहेका छन् भने अन्य दलमा मतभेद रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्