Logo
Logo

नेपाली शोभराज अर्थात् अनिल र अभिषेक


1.8k
Shares

काठमाडौं । नेपालको जेलमा रहेका विश्वकै कुख्यात सिरियल किलर चाल्र्स शोभराजले व्यवसायिक साझेदार बनाएर दर्जनौं व्यक्तिको हत्या गरे । नेपालमा पनि दुई जनालाई बहुमुल्य पत्थरको कारोबारको प्रलोभनमा पारेर उनले हत्या गरेका थिए ।

शोभराजकै शैलीमा पछिल्लो समय नेपालमा हत्या श्रृङखला हुन थालेका छन् । ८ वर्षअघि अभिषेक सिंहले त्यही शैलीमा सात जनाको हत्या गरेका थिए । अनिल मण्डलले त्यसैगरी हालै तीन जनाको नाटकीय शैलीमा हत्या गरेका छन् । कारोबारबाट हुने फाइदा आफुले मात्र राख्न मण्डलले तीन साझेदारको हत्या गरेर फालेको घटनाले समाजलाई नै स्तब्ध बनाएको छ ।

जग्गा कारोबारमा नाफाजति आफु राख्न उनले तेह्रथुमका ६२ वर्षीय मोहनप्रसाद लिम्बू, सुनसरी धरान–३ का ४८ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ र सप्तरीको शम्भुनाथ गाउँपालिका–४ का ३२ वर्षीय शम्भु चौधरीको हत्या गरेर शवसमेत गायव बनाउन गाढेका थिए ।

घटनामा संलग्न उनीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । अभियुक्त मण्डलले भाडाका अभियुक्त प्रयोग गरी तीन जनाको विभत्स हत्या गरेको मोरङका एसपी जनार्दन जिसीले बताए ।

करोडपति बन्ने महत्वाकांक्षा
सिराहाको मध्यम परिवारमा हुर्किएका मण्डल इन्जिनियरीङका विद्यार्थी हुन् । तर, पढाई छाडेर उनी छिटो पैसा कमाउने बाटोमा लागे ।

त्यसका लागि जग्गाको कारोबार सबैभन्दा सहज थियो । त्यही क्रममा ठूला जग्गाको डिल गर्दै जाँदा उनको सहकार्य मोहन लिम्बू, राजेन्द्र श्रेष्ठ र शम्भु चौधरीसँग भयो । हालै उनीहरुले एउटा जग्गा बिक्रिको डिल गरेका थिए । जसमा डेढ करोड कमिसन आफुमात्र खाने योजनाका साथ उनले हत्याको योजना बनाएको प्रहरी अधिकारीहरु बताउँछन् ।

प्रहरीले हत्यामा उनलाई सहयोग गर्ने मोरङको धनपाल थान गाउँपालिका ७ घर भएका ६२ वर्षीय नासिर आलम, मोरङ जहदा गाउँपालिका घर भएका अमित साह भनिने दीनानाथ सोनार, मोरङ रंगेली नगरपलिका–३ आमतोलाका ३३ वर्षीय मोहम्मद सुभाम र सुनसरी देवानगञ्ज गाउँपालिका–६ जिरोगौवाका १८ वर्षीय मोहम्मद हकिमलाई पक्राउ गरिसकेको छ । अन्य केही व्यक्ति अझै फरार छन् ।

सहकारीदेखि अनेक धन्दा
मुख्य योजनाकार अनिलमा पैसा कमाउने यति धेरै महत्वाकांक्षा छ कि उनले एकैपटक आधार दर्जन कम्पनी चलाएका थिए । कुलेश्वरस्थित जनजीवीका सहकारीका अध्यक्ष हुन् उनी । नयाँ बानेश्वरमा रहेको यात्रा पल कम्पनी पनि चलाएको छन् ।

टुटल, पठाओजस्तै प्रकृतिको काम गर्ने सो कम्पनी चलाएका थिए । त्यस्तै अनलाइन डेलिभरीसम्बन्धी काम गर्ने भनेर फेमिली केयर नामक अर्काे कम्पनी सुरु गरेका थिए ।

जग्गा कारोबारकै क्रममा धरानका राजेन्द्र श्रेष्ठसँग केही वर्ष अघिदेखि नै अनिलको चिनजान भएको थियो । पछि उनीहरुसँग शम्भु चौधरी र मोहनप्रसाद लिम्बू जोडिए । शम्भु, राजेन्द्र र मोहनप्रसाद मिलेर घर जग्गाको कारोबार गर्थे । उनीहरुको समूहले एउटा जग्गा ५० करोड रुपैयाँमा बैना गराएको थियो, केही महिना अघि ।

त्यस वापत उनीहरुको समूहले डेढ करोड रुपैयाँ हात पार्दै थियो । कमिसनको रकम मध्ये तीन जनाले केही बढी र अनिललाई भने कम दिने सल्लाह गरेका थिए । ‘कमिसन’को असन्तुष्टिको यो श्रृङखलाबद्ध हत्या भएको प्रहरी अनुसन्धानको निष्कर्ष छ ।

असोजको ३ गते अनिल मण्डल र मोहनप्रसाद लिम्बूबीच साढे २ अर्ब रुपैयाँको विषयमा लिखित सहमति भएको समेत देखिन्छ । जसमा कपिलवस्तुको गणपति सिमेन्ट र सुपर सुनकोसी जलविद्युत आयोजनामा लगानी गर्ने उद्देश्यका साथ रकम मोहनप्रसादलाई दिने भनिएको थियो ।

मोहनप्रसाद जलविद्युत क्षेत्रका जानकार व्यक्ति हुन् । अनिल, राजेन्द्र, शम्भु र मोहनप्रसादले मिलेर घलेन्द्री हाइड्रो पावरमा लगानी गर्ने योजना तयार पारेका थिए । चार करोड रुपैयाँसमेत उनीहरुले जुटाइसकेको र त्यो पैसा पनि उनले लुकाउन खोजेको हुनसक्ने बताइएको छ ।

हत्याको योजना बनाएपछि मंसिर २८ गते जलविद्युत आयोजनाको विषयमा छलफल गर्न भन्दै ६२ वर्षीय मोहनप्रसाद लिम्बूलाई ललितपुरको ठेचोमा अनिलले डाके ।

फेमेली केयर गु्रपका लागि सामान राख्न भन्दै अनिलले एक तले घर मासिक ३० हजार रुपैयाँमा भाडामा लिएका थिए । त्यही कोठामा बोलाएपछि दुई जनाको सहयोग लिएर उनको हत्या गरेका थिए । हत्यापछि कोठाभित्रै शव गाढ्ने योजना बनँएका थिए । तर, ढलान फुटाउन समस्या भएपछि कम्पाउन्डमा गाढिएको थियो ।

मंसिर २८ गते हत्या र शव व्यवस्थापन गरेपछि निर्धक्क अनिल विराटनगरतिर गए । दुई साथीहरु राजेन्द्र र शम्भुलाई गाडीमा लिएर उनी विराटनगर गएका थिए ।

झापाको जग्गा र अरु कारोबार मिलाउन भन्दै उनले विराटनगर लगेका थिए । तर, त्यहाँ लैजानुको मुख्य उदेश्य भने ती दुई जना साथीको पनि हत्या थियो । ५ पुसमा राजेन्द्र र ७ पुसमा शम्भुलाई मारेर उखुबारीमा लगेर गाढेको प्रहरीको भनाई छ ।

मोरङले धनपालथान गाउँपालिका वडा नम्बर ७ बस्ने दिलिप सिंहको उखुबारीमा दुवैको शव गाड्न लगाएका थिए । उखु काट्ने क्रममा स्थानीयलाई शंकास्पद लागेपछि खोतलेर हेर्दा शव भेटिएपछि अनुसन्धान सुरु भएको थियो । मृतकहरुको निकटस्थ खोज्दै जाँदा अनिल पक्राउ परेका हुन् ।

शव भेटिएपछि पनि अलिन डराएनन्, बरु प्रहरीलाई थप झुक्याउने प्रयास गरे । माघ १३ गते लगातार दुई जनाको शव भेटिएको थियो । मृतकको सनाखत हुन सकेको थिएन । त्यही बेला जिल्ला प्रहरी कार्यालयले एउटा कुरियर पायो । त्यसमा थियो उखुबारीमा भेटिएका दुई शवको पहिचान र त्यससँग जोडिएका पत्रहरु थिए ।

कुरियरबाट सूचना दिने अरु कोही थिएन, अनिल मण्डल नै थिए । उनले जिल्ला प्रहरी कार्यालय मोरङलाई कुरियर गरेर भेटिएका मृतककोबारे आफूसँग जानकारी रहेको भन्दै पत्राचार गरेका थिए । अनिलले कुरियरमा मृतकहरुको फोटो, नागरिकताको प्रतिलिपि र विभिन्न कम्पनीसँग भएका सम्झौतापत्र पठाएका थिए । कल डिटेल र त्यसैलाई आधार बनाएर प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको हो । यो घटनाले पैसाका लागि कुन हदसम्मका अपराध गर्न पछि हट्दैनन् भन्ने समाजको डरलाग्दो दृश्य देखाएको छ ।

नेपाली शोभराज अर्थात् अनिल र अभिषेक
हालै भएको श्रृङखलाबद्ध हत्याले आठ वर्षअघि यस्तै गरी भएको अर्काे हत्या घटनाको सम्झाएको छ । सिरियल किलर अभिषेक सिंहले सात जनाको हत्या गरेका थिए । जसकारण अभिषेकलाई प्रहरीले नेपाली शोभराजको उपनाम दिएका थिए ।

उनको अपराधको शैली निकै नाटकीय हुन्छ । पैसावाल विभिन्न व्यक्तिलाई साथी बनाउने व्यापार व्यवसाय गर्ने भन्दै विभिन्न योजना बनाउने, त्यही बीचमा विभिन्न औषधि प्रयोग गरी उक्त व्यक्तिको हत्या गर्ने र उसको सम्पत्ति हात पार्ने गर्दछन् । सकेसम्म हत्यामा आफ्नो संलग्नता नहोस् भनेर उनले प्रमाण छाड्दैनन् ।

यसमा उनको पृष्ठभूमि पनि गाँसिन्छ । अभिषेकका बुवा अजयराज सिंह खेलकुद परिषद बाँकेका शाखा अधिकृत थिए । २०६२ भदौ ८ गते तत्कालीन नेकपा माओवादीका दुई कार्यकर्ताले अजयराजलाई राजावादी भएको आरोपमा गोली हानी हत्या गरे । बुवाको हत्याले आफ्नो दिमाग खलबलियो र प्रतिशोधमा हत्याको योजना बन्न थालेको उनले प्रहरीसँग बताउँछन् ।

उनले बुवाका हत्यामा संलग्न रहेको भन्दै बाँके खजुरासीका १७ र १८ वर्षका दुई युवकलाई गोली हानी हत्या गरे । उनले हत्या गरेको कुरा प्रहरीले थाहा पाएपछि उनी भारततिरै बस्न थाले । त्यो घटनामा प्रहरीले उनीमाथि अनुसन्धान गरेन । त्यो द्वन्द्वकालको मुद्दा हुन्छ ।

लामो समय भारत बसेपछि २०६४ सालमा उनी फेरि नेपाल आउँछन् । त्यसपछि उनले योग सिकाउने, झारफुक र तन्त्रमन्त्रको धन्दा सुरू गर्छन्, आफ्नो पहिचान पनि बदल्छन् । देव शर्माको नामले आफुलाई चिनाउँछन् ।

वि.सं. २०६७ सालमा अभिषेकको भेट मदन विक्रम राणासँग हुन्छ । धनाढ्य परिवारका राणा रोगी थिए । उनी अभिषेककहाँ योग सिक्न आउने गर्थे । राणाले आफ्नो जग्गा बेच्न लागेको अभिषेकलाई बताए । त्यसपछि अभिषेकले इचंगुनारायणका निरप भनिने २७ वर्षीय नरबहादुर गोतामेसँग सम्पर्क गर्न सल्लाह दिए । गोतामे जग्गाका कारोबारी हुन्छन् ।

म्युजिक भिडियोमा अभिनयसमेत गरेका गोतामे जग्गाको कारोबार गर्थे । गोतामेसँग मिलेर आधा कमिसन खाने योजना बनाउँछन् । तर, जग्गामा किचलो आएपछि गोतामेले अभिषेकलाई बाइपास गरी सबै कमिसन आफैं लिने योजना बनाएको उनले थाहा पाउँछन् ।

म्युजिक भिडियोमा खेलाइदिन्छु भन्दै अभिषेकले दीपेन्द्र भन्ने साथीसँग मिलेर गोतामेलाई पोखरा, नेपालगञ्ज हुँदै सुर्खेत लान्छन् । र त्यही नाटकीय रुपमा लजमा लगेर हत्या गर्छन् । बेहोस बनाउने औषधि खुवाएर उनको हत्या हुन्छ ।

त्यसैगरी अभिषेकले २०६९ साउन ७ गते बुद्ध भनिने जगतसिंह तामाङको पनि हत्या गर्छन् । उनले मिलन लिम्बुसँग मिलेर जगतलाई भारतको सिलिगुढी हुँदै लखनउ लगेर हत्या गरेका थिए । व्यापारको प्रलोभनमा पारी उनको पैसा लिन त्यसरी हत्या गरेका थिए ।

तीनै जना जगतको बा ८ च ३२३६ नं को वेगन आर ब्रान्डको कारमा सवार थिए । दिनभरि लखनउमा घुमघाम गरी बारावंकी र फैजावादको बीचमा रहेको होटल हाइवेमा आराम गर्ने बहानामा अभिषेकले जगतलाई २५ एमजीको ट्रिप्टिन नामक डिप्रेसनको औषधि दूधमा मिलाई खान दिएका थिए । त्यसपछि बेहोस भएका जगतको केही समयमै मृत्यु हुन्छ । त्यसैगरी आफ्नै घरमा काम गर्ने सार्की तामाङलाई पनि अभिषेकले लट्ठ्याउने औषधि दिई इन्जेक्सन लगाएर हत्या गरेका थिए ।

आफ्ना गोप्य सूचना लिक गर्न सक्ने भन्दै उनले सहयोगीको हत्या गरेको खुल्छ । त्यसैगरी काठमाडौं पेप्सीकोलाका निरनजंग पाण्डेलाई नागमणि खोज्न जाने बहानामा हेटौंडाको खोप्लाङमा हत्या गरे । बेहोस बनाई गाडीबाट झारेर उनको हत्या गरेर शव लुकाउँछन् । पछि पाण्डेका आफन्तले उजुरी गर्दा उनका अन्य हत्याको पोल खुल्छ ।

हत्या अभियोगमा जेलमा रहँदा समेत त्यहाँ नै उनले एक जनाको नाटकीय शैलीमा हत्या गर्दछन् । कारागारमै रहेका एक व्यक्तिको जग्गा हात पार्ने योजनामा उनले २०७५ को बैशाखमा सालमा नख्खु कारागारमा भक्तबहादुर सुनुवारको हत्या गरेका थिए ।

जेलमा रहेका व्यक्तिको नक्कली कागजपत्र बनाएर उनको जग्गा बेच्ने र ती व्यक्तिलाई नाटकीय रुपमा विष खुवाएर हत्या गर्ने योजना उनले बनाउँछन् ।

त्यसका लागि उनले जडिबुटीबाट विष बनाउँछन, जुन विषको पोष्टमार्टम गर्दा पनि चिकित्सकले पत्ता नलागाउन् भन्ने उनको उदेश्य हुन्छ । त्यही विषको परीक्षण गर्दा कारागारका कैदी भक्तबहादुर सुनुवाईको मृत्यु हुन्छ ।

अत्याधिक पेट दुखेर अस्पताल लगेकोमा उपचारको क्रममा उनको मृत्यु हुन्छ । बिरामी भएकै उनको मृत्यु भएको निष्कर्ष निकालिन्छ । तर, मृतकका आफन्तलाई शंका हुन्छ । उनीहरुले गृह मन्त्रालयमा छानबिनको माग राखी उजुरी दिन्छन् ।

जसक्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले छानबिन गर्छ, छानबिनको क्रममा अभिषेक र उनका साथी मनोज चौरसिया मिलेर विष परीक्षण गर्दा उनको मृत्यु भएको खुलेको थियो ।

सिंहले जेलबाटै छुटेका धुव्रकृष्ण शर्माको सहयोगमा कारागारबाट विष बनाउन आवश्यक वनस्पति मगाएर त्यो विष बनाएका थिए । जग्गाधनीमा त्यो परीक्षण गर्नुअघि आफ्नो सहयोगी जस्तो बनेर बसेका सुनुवारलाई खानामा मिसाएर खुवाउँछन् । चिकित्सकले उनको विष सेवनबाट मृत्यु भएको पत्ता लगाउँदैनन् । अहिले पनि सिंह कारागारमै छन् ।

प्रतिक्रिया दिनुहोस्