काठमाडौं । सरकारी स्वमित्वको दूग्ध विकास संस्थान ‘डीडीसी’ले प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाउने निर्णय गरेको छ । मूल्यवृद्धिसँगै अब एक लिटरमा उपलब्ध हुने एक पोका दूधको मूल्य ८५ रुपैयाँ पुगेको छ ।
बुधबार बसेको संस्थानको बोर्ड बैठकले नयाँ उपभोक्ता मूल्य निर्धारणको निर्णय गरेको हो । बढेको मूल्य शुक्रबारदेखि लागू हुनेछ ।
बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संस्थानलाई दूधको मूल्य बढाउन अनुमति दिएको थियो । तीन इकाइ फ्याट र ८ इकाइ एसएनएफको आधारमा प्रशोधित दूधको मूल्य तोक्न मन्त्रालयले सहमति दिएको थियो ।