Logo
Logo

जनआन्दोलन बुझाउने जोगीको पाँच रुपैयाँ दान


11.6k
Shares

जनआन्दोलन चर्किँदै थियो । सडकमा न्यायप्रेमी नागरिक झन्झन् ठूलो संख्यामा ओर्लिन थालिसकेका थिए । असंख्य जनताको त्यो निरन्तर बढ्दो सहभागिता अवर्णनीय थियो ।

शासकहरुको मनोबल जति घट्दै गयो दमन पनि त्यति नै चर्किन थाल्यो । सडकमै गोली खानेको संख्या पनि बढ्न थाल्यो । कति ठाउँमा रगतको भेल नै बग्यो । कति मानिस त्यत्तिकै बेपत्ता भए ! ती सबैको नाम उल्लेख त इतिहासमा कहाँ अभिलिखित हुन्छ र ? बाँच्नेका सम्झनामा भने कतिपय अनुहार, कतिपय घटना फर्कीफर्की आइरहन्छन् ।

त्यो बेला आफैँ टिपेका पुराना टिपोट पल्टाउँदा पाउँछु– त्यही जनआन्दोलनले नै सत्तामा पुर्याइदिएर नयाँ शासक बनेका ‘म नै हिरो हुँ’ भन्नेहरुको दाँजोमा धेरै गुना अगाडि बढेर गोली थाप्ने, घरबार त्याग्ने, घाइते भएर बाँच्ने जिउँदा शहीदहरुको असंख्य कथा त अझै पनि अलिखित इतिहासको गर्भमै छ ।

त्यो बेला जनताले देखाएको ऐक्यवद्धता हेर्दा लाग्छ– जनता न्यायको नदी हो, देखिने वा नदेखिने गरी जहिले पनि बगिरहन्छ । कुनै बेला आन्दोलनकै बाढी भएर देखापर्छ । कुनै बेला तातो घाममा प्याकप्याक परेरै आन्दोलनमा होम्मिइरहेका जनतालाई झ्यालबाट शीतल पानी छर्किदिने र पिउने पानी बाँडीदिने विवेकी गृहिणीहरुको माया भएर देखापर्छ । अनेक रूपमा अवतरित भइरहेको थियो जनताको शक्ति ।

जनआन्दोलनका घाइतेलाई उपचार गर्न दानपेटिका राखिएको थियो । एक जोगीले पाँच रुपैयाँ राखिदिए । ५० रुपैयाँभन्दा माथिको मात्र नाम राखेकाले उनको नाम त्यो लिष्टमा परेनछ । को थिए उनी ? अहिले थाहा छैन । तर उनको त्यो पाँच रुपैयाँले धेरै कुरा बताउँछ । जनआन्दोलन के थियो भन्ने बुझाउने घटना हो त्यो ।

आन्दोलनकारी र आन्दोलन एक बनेको थियो । जेल पर्नेहरुको संख्या बढेको बढ्यै थियो । तिनमा विभिन्न पेशामा लागेका नागरिक थिए । डाक्टरहरु पनि विभिन्न अस्पतालबाट जेल परिसकेका थिए ।

घाइतेको संख्या धमाधम थपिँदै थियो । शहरको केन्द्रमा रहेको ‘काठमाण्डौँ मोडल अस्पताल’ पनि जुलुसमा घाइते हुने, गोली खाने धेरै बिरामीलाई सिधै पुर्याइने ठाउँ थियो । त्यहाँका डाक्टर, नर्स व्यस्त मात्र होइन, पुलिसको बढ्दो निगरानी पनि खेपिरहेका थिए ।

पुलिस भ्यान एकछिन पनि खाली हुँदैनथ्यो । अस्पतालका दुई प्रमुख– डा. भरत प्रधान र डा. सरोज धिताल जेल परिसकेका थिए । घाइतेहरुको संख्या सम्हालिनसक्नु भएपछि, एउटा छुट्टै ‘उपचार कोष’ बनाउनुपर्छ भन्ने कुरा सागर श्रेष्ठलगायत प्रशासनका कर्मचारीले उठाए र त्यसमा संस्थाका अध्यक्ष, उपाध्यक्ष विख्यात कलाकार मदनकृष्ण–हरिवंशले साथ दिए ।

आन्दोलनका क्रममा हरेक दिनजसो अस्पताल पुगेर सहयोग गर्ने प्रोफेसर भरत शर्माजस्ता वरिष्ठ बुद्धिजीवीले साथ दिए । चन्दा बाकस राखियो । चन्दा दाताको नामलिष्ट पनि बनाएर राखियो । कसले कति सहयोग गरे भन्ने कुरा सकेसम्म थाहा होस् भनेर दाताको नाम त्यहाँ दर्ता हुन्थ्यो ।

उपचार कोष बन्नु साँच्चै बुद्धिमानी थियो, जनताको ऐक्यबद्धताको नमूना थियो । धेरै न्यायप्रेमी गृहिणीहरु समेतले त्यसमा सकेको दान गरे ।

ती सबका बीचमा सम्झिन लायक एक दाता छन्– भिक्षाटन गरेर जीविका चलाउने एकजना जोगी । आफूले भिक्षामा पाएको पाँच रुपैयाँ राखिदिएछन् उनले । ५० रुपैयाँभन्दा माथिको मात्र नाम राखेकाले उनको नाम त्यो लिष्टमा परेनछ । को थिए उनी ? अहिले थाहा छैन । तर उनको त्यो पाँच रुपैयाँले धेरै कुरा बताउँछ । जनआन्दोलन के थियो भन्ने बुझाउने घटना हो त्यो ।

जोगीको थर हुँदैन भन्छन् । उनको त नाम पनि थाहा छैन । तर त्यो बेनामी सम्झनामा घाइतेप्रतिको करूणामात्र होइन, लोकतन्त्र, सामाजिक न्याय र सुशानका निम्ति लडिरहेका जनताप्रति जोगीको समेत ऐक्यबद्धता देखिन्छ ।

दान भनेको पैसा भएकाले मात्र दिने होइन, नामकै निम्ति मात्र गर्ने पनि होइन भनेर फेरि ती जोगीले सिकाएका छन् । समय सधैँ गुरु हुन्छ, समयले नै ती जोगीमार्फत एउटा पाठ सिकाइरहेको थियो ।

दान भनेको निशर्त हुन्छ । सशर्त त लगानीमात्र हुन्छ । सकारात्मक परिवर्तनका निम्ति समय दिनु, आफ्नो युवाकाल दिनु, सुख त्याग्नु, घरबार त्याग्नु, पेशा त्याग्नु… सबै दान हुनसक्छ, भएको छ । तर कसै–कसैले यिनै कुरा ‘दान’को नाममा लगानी गरिरहेका पनि हुँदा रहेछन् ।

कुनै बेला यस्ता धेरै ‘त्याग’ गरेका मानिस आज सत्तामा पुगेपछि जसरी रूपान्तरित भएर अर्कै प्राणी बनेका छन् । त्यो हेर्दा लाग्छ– तिनले त्यो बेला दान होइन, लगानी पो गरेका रहेछन् ! धनको खोजीमा वा सत्ताशक्तिको प्राप्तिका निम्ति ठूल्ठूला जोखिम उठाउने दुस्साहसीजस्ता लगानीकर्ता पो रहेछन् ती त । बरू ती जोगीको पाँच रुपियाँमा भने जनताको थोपा–थोपा शक्ति सिञ्चित लोकतन्त्रको कथा लेखिएको छ, जसलाई नबिर्सिकन हामीले फर्कीफर्की बेला–बेलामा पढिरहनुपर्छ, सम्झिरहनु पर्छ ।

जीवन सबैका निम्ति एकबारकै हो । जीवनलाई सम्यक ढंगले बिताउने भनेको वर्तमानमै हो । अब त विगत भइसकेको त्यो बेलाको अवस्थालाई स्मरण गर्दा कतिको बलिदानको कुनै हिसाबै छैन ।

घरैमा बस्नेहरूलाई समेत गोली लागेको छ । कति घाइते भए, ती सबैको संख्या अझै स्पष्ट छैन । कति बेपत्ता भए, अझै थाहा छैन । कतिले वर्षौं उपचार गराएर घर फर्कन सके । कति जिउँदा शहीदहरु अझै घाइते शरीर र मन लिएर बाँचेका छन् । लोकतान्त्रिक भनिएका सरकारहरू बने, ढले, फेरि अर्काथरिले सरकार बनाए, ढले… यीमध्ये कसैले ती जिउँदा शहीदलाई ध्यान पुर्याउन सकेका छन् त ? उठिराख्नुपर्ने प्रश्न हो यो ।

यस्तो प्रश्न उठेन भने मानिसको जीवनको महत्व हराउँछ । परिवर्तनको सार्थकता देखिँदैन । परिवर्तनका निम्तिको यज्ञ र यत्नको अवमूल्यन हुन थाल्छ । मञ्चमा आसिन हुनेहरूले गर्ने ‘सत्ताको अधिकारी म मात्र हुँ’ भन्ने हुँकार र अहंकारले जितिरहने छ ।

‘नेता’हरूले त्यो बेलाको यथार्थमा फर्केर जनताका निशर्त योगदानसँग आफ्नो सशर्त योगदानलाई तुलना गर्ने गरुन्, आफू कसरी जनताको योद्धाबाट एउटा दुस्साहसी ‘लगानीकर्ता’, ‘खतराको खेलाडी’ वा ‘निडर धनान्वेषी’का रूपमा चिनिन पुगेँ भन्ने थाहा पाउन् भन्ने लाग्छ ।

यसरी जनताको योगदानलाई देख्न सक्ने, ‘जनता’को अर्थ बुझ्ने मान्छे कहिल्यै अहंकारी हुन सक्तैन र तानाशाह त कदापि हुँदैन । जोगीको पाँच रुपियाँ त एउटा सानो प्रतीक मात्र हो । सानो बिम्ब मात्र हो । त्यो पाँच रूपियाँको दानजत्तिकै सहजताका साथ आफ्नो जीवनकै आहुती दिने बेनाम जनताको निशर्त त्याग सम्झेर कृतज्ञ बन्नु हो इतिहासको साँच्चै कदर गर्नु भनेको चाहिँ । यति सबैले गर्न सकौँ !

प्रतिक्रिया दिनुहोस्