राजनीतिमा सिद्धान्त र दर्शन साधन हुन् । यसर्थ, निष्ठावान भई सिद्धान्तको सिर्जनशील प्रयोग गरिनु पर्दछ । राजनीतिको साध्य समाज, राष्ट्र र सम्पूर्ण मानवजातिको मुक्ति अनि रूपान्तरण नै हो ।
फ्याट्ट फित्कौलीले हानेर झिँगा मारेजस्तो रूपान्तरण सजिलो प्रक्रिया होइन । दीर्घकालीन अभियान र धैर्यपूर्वक हिँडिने लम्बेतान बाटो हो । यद्यपि, नेपालमा राजनीति गर्नेहरु नै उदेकलाग्दो उद्देश्यसहित त्यो बाटोमा आफ्ना कदमहरु चलिरहेका छन् । निहीत स्वार्थ र लालचको कमण्डलु बोकेर राजनीतिक मैदानमा प्रवेश गर्नेहरुले यो लम्बेतान यात्रालाई नै फोहरी बनाएका छन् ।
समय सधैँ एकनासको रहँदैन । ‘इतिहासको पुनरावृत्त होइन, बरु विकास हुन्छ’ भनिएझै देश लुटेर सेठ ठहरिएकाहरु यो बखत मलिन मुद्रामा हारगुहार मागिरहेका छन् ।
विगतदेखि नै देश डढाएर खरानीको व्यापार गर्न पल्केएकाहरु आफूविरुद्ध उभिएको एकीकृत शक्ति देखेर त्राहिमाम छन् ।
राष्ट्रियसभाको निर्वाचनमा ‘गोला प्रथा’ले समेत भित्तो देखाइदिएपछि आफैँलाई निकै रित्तो महसुस गरेका छन् । ‘कथनी र करनी’ बीचको भिन्नता छर्लङ्ड हुँदै गएपछि उनीहरुलाई लाज ढाक्न हम्मेहम्मे नै परेको छ ।
हिजो सिद्धान्त भनेर फलाकिएका मिठा कुराहरु आज फगत गफमा परिणत भएपछि विस्तारै खोला सुल्टो बग्न थालेको छ । थितिभन्दा बेथितिलाई अंकमाल गर्दाको परिणामस्वरुप हिजोका शक्तिशाली नेताहरु आज एक्लै भौँतारिनु परेको छ ।
हिजो समृद्धिका भयंकर खफ चुटेर लोकलाई हँसाउने पात्रहरु आज सुतुरमुर्ग बनेका छन् । जुन गतिमा यिनीहरु समृद्ध नेपाल र सुखी नेपाली चाहनामा ठट्टा गर्दै थिए, त्यसकै दोब्बर अनुपातमा देशमा अभाव गहिरिँदै छ ।
सदाचारको सिरक ओढेर भ्रष्टाचारको रछ्यानमा आहाल बस्न बानी परेकाहरुले इतिहासको पांग्रालाई रोक्न जतिनै जुक्ति लगाए पनि त्यो फलदायी हुन सकेन । यद्यपि, अझै पनि भँगेरीले समुद्र सुकाउँछु भनेर चुच्चामा पानी बोकेजस्तो बेतुके गफ चुट्न छाडेका छैनन् ।
अरुलाई ‘सिंगल–सिंगल आइजा’ भन्दै आफू भने एकात्मक राज्यव्यवस्था ल्याउँछौँ भन्नेहरुको ओत लागेर रुञ्चे स्वरमा बर्बराइरहेका छन् । हेरौं इतिहासले मिल्क्याइसकेका यी कागजी बाघहरु कहाँसम्म खुट्टा तन्काउँछन् ।
‘इतिहासका निर्माता जनता नै हुन्’ भनेझैँ हिजो दुईतिहाइ मत दिएर सत्ताको लिस्नो चढाउने यिनै जनता हुन् । त्यही जनमतको उपहास गर्दै घाँटी निमोठेर धर्ती छाडेपछि अब टेक्ने कहाँ ?
अहमताको आकाशमा उड्नुपूर्व विश्वासको धुरीमाथि डढेलो सल्काएर अब ओत लाग्ने कुन घरमा ? जनतालाई आकाशतिर फर्काएर भुँइमा शिकार खसाल्ने र आफ्नै झोली कस्ने ओली प्रवृत्ति आम जनताले कतिन्जेल सहने ?
बहुमतको घमण्डले तत्कालीन शक्तिशाली पार्टी माओवादीलाई कहाँ पुर्यायो ? हुँदाखाँदाको दुईतिहाइ बहुमतको सरकार कसको विवेकले ध्वस्त बनायो ? कयौं आरोह–अवरोहबीच निर्माण भएको जब्बर कम्युनिष्ट पार्टी किन छिन्नभिन्न भयो ?
यावत प्रश्नहरुको ओइरो लागेका बेला पनि आत्म समीक्षा र सल्लाह भन्ने कुरो उनीहरुबाट कोशौं टाढा भागेको छ । उनीहरुभित्र सुन्निएको घमण्डको बतास अझै बीसको उन्नाइस भएको छैन । झनै अमर्यादित र उग्र बन्दै गएको छ ।
सामान्यतया ‘विगतका भुलचुकबाट पाठ सिकेर अघि बढ्नु नै सफलताको मार्ग पहिल्याउनु हो’ भन्ने सामाजिक मान्यता छ । अहंकारयुक्त सोंच र कदमले व्यक्तिसँगै सिंगो समाजलाई नै उधोगतितर्फ धकेलेका ठुल्ठूला उदाहरण पनि हामीले देखे–सुनेकै छौँ ।
राष्ट्रियसभा निर्वाचनमा नमिठोसँग पराजित एमालेले यसलाई आफ्नो ठूलै जित हो भनेको छ । हुन त ‘पूर्वतिर बगाएर पश्चिमतर्फ खोज्ने’ कुरा गर्नु उसको नियतै हो ।
बडो गजबको कुरो के भने– एमालेले आफ्नो हारको समीक्षा होइन, उसले त पाँच दलीय गठबन्धनलाई गिज्ज्याइरहेको छ । गठबन्धन नगरिकनै एमालेसँग एक्लाएक्लै निर्वाचन लडेर देखाउन चुनौती दिएको छ । परन्तु उ आफैँ पनि राप्रपालगायत केही मधेसवादी दलसँग गठबन्धन गरेर निर्वाचनमा जाने बताउँदै आएको छ ।
मधेसमा अराजक क्रियाकलाप गर्दै आइरहेको सिके राउतलगायतसँग एमालेले आउँदो निर्वाचनमा तालमेल गर्ने चर्चा चलिरहेको छ । सामान्यतया राजनीतिमा विचार मिल्ने शक्तिसँग गठबन्धन अथवा तालमेल गरिनु सामान्य प्रक्रिया हो । तर, विचार नमिल्ने त्यसमाथि पनि मधेसलाई छुट्टै राष्ट्र बनाउनुपर्छ भनेर हिँड्ने पार्टीसँग चुनावी एकता गर्नु आफैँ खरानी बन्नु हो ।
उसो त विगतमा एमाले–माओवादीकै पहिले तालमेल र पछि पार्टी एकता भएरै दुईतिहाइ बहुमत प्राप्त भएको हो । त्यो दुई कम्युनिष्ट पार्टीबीचको गठबन्धन थियो । गठबन्धन र पार्टी एकता टुटेपछि सत्ताबाट मृत्यु शैयामा पुगेको स्वयंले अर्कालाई सिध्याइदिन्छु भन्नु कत्तिको सान्दर्भिक होला ?
यो बालहठले आउँदो स्थानीय र संघीय निर्वाचनमा एमालेलाई आफैँ नासिने बाटोतिर डोर्याएको उसले कहिले बुझ्ने ?
हुन त निरंकुश एवं दम्भी शासकले आफ्नै धरातल भासिँदा पनि लाज भने फिटिक्कै नमान्दा रहेछन् ।
पछिल्लो समय पेचिलो बहसको विषय बनिरहेको एमसीसी सम्झौताका सन्दर्भमा सबै राजनीतिक दलले आ–आफ्नो धारणा प्रष्ट पारिसकेका छन् । परन्तु ओली कार्यकालमै पास गर्न निकै जोडबल गरेको एमालेले अहिले भने मौनताको अभिनय गरिरहेको छ ।
यसको अर्थ पास वा फेल जे भए पनि ऊ त्यसको जस आफ्नो पोल्टामा परेर भविष्यको चुनावी खुराक बनाउने ध्याउन्नमा छ ।
एमाले चाहन्छ, केपी ओली नेतृत्वको सरकारले ४२ महिनासम्म गरेका अधिकांश अवैध कामहरुको अपजस वर्तमान सरकारले लिनुपर्छ । ओली कार्यकालमा समृद्धिको डढेलो सल्काएर ध्वस्त पारिएको देशको अर्थव्यवस्था यसै सरकारको थाप्लोमा थोपर्नु पर्छ । यदाकदा एक–दुईवटा राम्रा काम भएका छन् भने त्यसको जस एमालेले पाउनुपर्छ भन्ने केटाकेटी खेलको कल्पनाकार पार्टीलाई एमाले भनिन्छ ।
अन्योलतामा पहलकदमी लिन कहिल्यै नसक्ने, चुनौतीको चाङ लगाएर आफू पन्छिने र देशलाई अनिर्णयको गुमराहमा जेलिराखेर आफ्ना नीहित स्वार्थ पूर्ति गर्नु गुटको उहिल्यैदेखि चलिआएकै रीत हो ।
राम्रा जति सबै हाम्रा भन्ने ढिपी नछाड्ने, राम्रो गर्नचाहिँ कहिल्यै झिनो प्रयत्नसम्म नगर्ने उसको सहज परिचय हो । मनमोहन अधिकारीले सुरु गरेको वृद्धभत्ता र उतिबेला मदन भण्डारीले निर्दिष्ट गरेको जबजको फेरो समाएर यहाँसम्म आएको एमाले हाल सिद्धान्त र लक्ष्यविहीन अवस्थामा छ ।
माधव नेपालहरुले जोरजुलम लगाएर जोगाइराखेको पार्टी नेतृत्वमा ओलीको उदयसँगै एमाले नराम्रोसँग पश्चगमनको दलदलमा भाँसिएको छ । सिंगो एमाले पार्टी व्यक्तिवादी अहमताको मुठ्ठीमा कैद बनेको छ ।
एमालेको अबको कार्यभार के हो ? ऊ आफैँलाई पत्तो छैन । विपरीत विचारलाई छिर्के हान्ने, राजनीतिक अन्योलता कायम राख्ने र जसरी हुन्छ सत्तामा पुग्ने उसको अन्तिम लक्ष्य हो ।
तसर्थ, अहिले सत्ता गठबन्धनले आफूविरुद्ध कसिलो बनाइरहेको घेराबन्दीबाट एमाले मस्तै तनावग्रस्त छ । फलस्वरूप सत्तारूढ गठबन्धन माथि तथानाम बर्बराउनु उसको दैनिकी बनिरहेको छ ।
गठबन्धन तोड्न देउवामाथि दबाब दिइरहेका ओली त्यसमा असफल भएपछि सरकारमाथि विभिन्न आरोप लगाउँदै हिँड्न थालेका छन् । गठबन्धनको इष्र्या गर्दै रुञ्चे स्वरमा बर्बराइरहेको ओली गुटले आफूहरु किन सबैतिरबाट एक्लियौं ? भनेर कहिल्यै समीक्षा गरेन । दुईतिहाइ बहुमतसहितको सरकार र पार्टी चाउरिएर मरिचजस्तै हुनथाल्दा समेत उसलाई पश्चाताप छैन ।
एउटा कुरा निश्चित के भयो भने आम इमानदार नेता कार्यकर्ताको अथाह त्याग र समर्पणबाट संरक्षित भएको एमाले पार्टी अन्ततः ओली नामक अहंकारको भुंग्रोमा डढेर पतन हुने नै भयो ।
– लमही दाङ