Logo
Logo

फागुन १ देखि १८ वर्ष माथिका सबैलाई बुस्टर डोज


882
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले फागुन १ देखि १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज दिने बताएका छन् ।

स्वास्थ्यमन्त्री खतिवडाले शुक्रबार आफ्नो १०० दिने कार्यप्रगति सार्वजनिक गर्दै यस्तो बताएका हुन् । उनी गत असोज २२ गते स्वास्थ्यमन्त्री नियुक्त भएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले घोषणा गरेको एक मात्र प्राथमिकता ‘खोप, खोप र खोप’ लाइ मूर्त रुप दिन मन्त्रालयको सम्पूर्ण संयन्त्र परिचालित भएको र कोभिड १९ विरुद्धको खोप अभियान राष्ट्रव्यापी रुपमा संचालन गरिएको जनाइएको छ ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन गर्दै उनले भने, ‘बिहीबार बसेको खोप सल्लाहकार समितिको निर्णय अनुसार १८ वर्ष उमेर पुगेका सबै नागरिक र दोस्रो डोज लगाएको ६ महिना पुगेकोलाई बुस्टर डोज लगाउन दिने निर्णय भएको छ ।’ सोक्रममा मन्त्री खतिवाले फागुन १ देखि सबै नागरिकले बुस्टर डोज लगाउन सक्ने बताए ।

सुरूमा फ्रन्टलाइनर्सलाई लक्षित गरेको र फागुन १ देखि सबैले बुस्टर डोज लगाउन सक्ने उनको भनाइ छ । साथै, विगतमा जोखिमा रहेका गर्भवती महिलालाई मात्र खोप दिने नीति लिएकोमा अब सबै गर्भवती महिलालाई पहिलो त्रैमासिकपछि खोप दिने नीति अपनाइने पनि मन्त्री खतिवडाले बताए ।

कार्यक्रममा हालसम्म ४ करोड ६५ लाख ७० हजार ७२० डोज खोप प्राप्त भएको र ३ करोड ४८ लाख २५ हजार ६०१ मात्रा खोप लगाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्