काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० मै निर्वाचन हुनेमा अझै आफू ढुक्क नरहेको बताएका छन् ।
स्थानीय तहको निर्वाचन केन्द्रीय सातै प्रदेशका लागि अभिमुखीकरण उद्घाटन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै ओलीले निर्वाचन हुनेमा अझै एमाले ढुक्क हुन नसकेको बताएका हुन् ।
‘ढाँटको निम्तो खाइ पत्याउनु । यदि नखाइ पत्यायौं भने भोकै परिन्छ’ अध्यक्ष ओलीले भने, ‘गठबन्धन सरकारले निर्वाचन गर्छ भनेर अझै एमाले ढक्क हुन सकेको छैन ।’
उनले अहिले तोकिएअनुसार नै निर्वाचन गराउने कुरामा सजगताका साथ हेर्न कार्यकर्तालाई निर्देशनसमेत दिए । अहिले पनि निर्वाचन नगराउने षड्यन्त्र हुन सक्ने उनको भनाइ छ ।
विगतमा पनि निर्वाचनका विरुद्ध कोही अदालत जाने र कसैले प्रतिगामी भन्ने गरेको उल्लेख गर्दै विथोल्ने र विगार्ने प्रयास अझै हुने अध्यक्ष ओलीले बताए । एमालेले सरकारले घोषणा गरेको निर्वाचनका विषयमा औपचारिक प्रतिक्रिया अहिलेसम्म दिइसकेको छैन । एमालेले आजदेखि सातै प्रदेशमा विर्वाचन केन्द्रीत अभिमुखीकरण कार्यक्रम गर्दैछ ।