Logo
Logo

जनकपुरमा सात महिने बच्चाको अपहरण, ३ जना पक्राउ


189
Shares

काठमाडौं । जनकपुर उपमहानगरपालिका–६ महाराज सागर पोखरी छेउबाट अन्दाजी ७ महिनाको बालकको अपहरण भएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले बिहीबार ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा गणेशमान चारनाथ नगरपालिका–१० डुमरीया बस्ने ३५ वर्षीया मनिषा देवी मुखिया, औरही गाउँपालिका–१ पौडेश्वर घर भइ हाल जनकपुर उपमहानगरपालिका–८ डेरा गरी बस्ने २० वर्षीया किरण राम र जनकपुर उपमहानगरपालिका–७ भ्रमपुरा डेरा गरी बस्ने महोत्तरी लोहारपट्टी नगरपालिका–४ घर भएका २२ वर्षीय कृष्ण कुमार यादव रहेका छन् ।

उक्त पोखरी छेउमा ६ वर्षीया दिदीले खेलाई रहेको अवस्थामा ती बालकलाई अन्दाजी ३५ वर्षीया महिलाले लिएर भागेकी थिइन् । उक्त खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषा र वडा प्रहरी कार्यालय रेल्वेबाट खटिएको प्रहरीले जनकपुर उपमहानगरपालिका–१९ बेंगा शिवपुर पिपराढीस्थित हाँस तथा भैसी फारमको पछाडी खेतमा मनिषा देवी मुखियालाई भाग्दै गरेको अवस्थामा ती बालक समेत २ वटा बच्चा सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको थियो ।

प्रारम्भिक अनुसन्धानको क्रममा मनिषा देवीले बालककी दिदीलाई ५० रुपैयाँ दिइ कुरकुरे किन्न पठाइ बच्चा लिएर भागेको खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाको सम्बन्धनमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्