काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेले आगामी निर्वाचनमा चुनावी तालमेल नगर्ने स्पष्ट पारेका छन् ।
शुक्रबार काठमाडौंमा एमाले स्थानीय तह निर्वाचन तयारी केन्द्रीत प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको भर्चुअल रुप उद्घाटन गदै अध्यक्ष ओलीले आगामी निर्वाचनमा राष्ट्रियस्तरमा चुनावी तालमेल नहुने बताएका हुन् ।
अध्यक्ष ओलीले पार्टीले तालमेल वा एकता गर्छ कि भन्ने नसोच्न अपिल गरे । कानुन नहुँदा पनि स्थानीय तहका पहिलो जनप्रतिनिधिले उल्लेख्य काम गरेको बताउँदै अध्यक्ष ओलीले आगामी निर्वाचनमा बहुमत ल्याउन केन्द्रित हुन पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे ।
त्यस्तै उनले एमालेले कसैलाई निर्वाचनबाट भाग्न नदिने भन्दै अबको निर्वाचनमा बत्ति निभाएर र मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्न चेतावनी दिए । उनले वर्तमान सरकार र गठबन्धन दलले निर्वाचन गर्न नचाहेपनि जनताको दवावका कारण स्थानीय तहको निर्वाचन घोषणा गर्न बाध्य भएको बताए ।
त्यस्तै उनले सात महिनाको अवधीमा गठबन्धन सरकारले मुलुकलाई अस्तव्यक्त बनाएको आरोप लगए । उनले आफूहरू संसद्मा प्रतिपक्षीको प्रभावकारी भूमिका निर्वाह गर्न इच्छुक रहेको तर, सरकारले संसद् चलाउने वातावरण नबनाएको टिप्पणी गरे ।
अध्यक्ष ओलीले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको र एमालेप्रति पूर्वाग्रही भएको पनि बताए । उनले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा पेश गर्नबाट सभामुख अग्निप्रसाद सापकोटाले रोक्न नपाउने बताए । सभामुखले एमसीसी सम्झौता संसदमा पेश गर्न दिन्न भन्नु सभामुखको अधिकार भन्दा बाहिरको कुरा भएको उनको भनाई छ ।