काठमाडौं । प्रतिनिधि सभा अन्र्तगतको विकास तथा प्रविधि समितिले नारायणघाट–बुटवल सडक खण्डमा डिपिआरमा उल्लेख गरिएभन्दा बढी रुख काट्नेहरुमाथि छानविन गर्न सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले डिपिआरमा उल्लेख गरिएको भन्दा बढी रुखहरु काटिएकाले बढी रुख काट्न स्वीकृत दिनेमाथि १५ छानविन गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो ।
बैठकले छिमेकी राष्ट्रहरुबाट नेपाल प्रवेश गर्ने ठूला मालवाहक सवारी साधनले निर्धारित मापदण्ड र सडकको क्षमता भन्दा बढी मालवस्तुहरु बोके, नबोकेको सम्बन्धमा प्रवेश नाकामै परिक्षण गर्नका लागि नीतिगत व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएको समिति सभापति कल्याणी खड्काले जानकारी दिए । त्यस्तै बैठकले राष्ट्रिय गौरवका आयोजनाहरु निर्माणका क्रममा देखिएका भुक्तानी समस्या समाधान गर्न पनि निर्देशन दिएको उनले बताए ।
बैठकमा भौतिक योजना तथा यातायात मन्त्री रेणुकुमारी यादवले मुआव्जाका विषयमा समय देखिँदा आयोजनाहरु समयमा नै सम्पन्न हुन नसकेको बताए । मुलुक संघीयतामा गइसकेपछि सडक निर्माणका बिषयमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुन नसक्दा समस्या हुने गरेको उनाको भनाइ छ ।
त्यस्तै सांसदहरुले आयोजनाहरु सम्पन्न नहुँदा लागत बढेको भन्दै राज्यले गम्भीर भएर देखिएका समस्याहरु समाधान गर्नुपर्ने बताए ।