Logo
Logo

एमसीसी अनुमोदन गर भनेर धम्क्याउनु अमेरिकी साम्राज्यवादको दादागिरी हो : मोहन वैद्य


1.3k
Shares

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले एमसीसी परियोजना अनुमोदन गर्न नेताहरूलाई धम्क्याउनु अमेरिकी साम्राज्यवादकाे दादागिरी र एउटा सार्वभौम देशको राष्ट्रिय स्वाधीनतामाथिको ठाडो हस्तक्षेप भएको बताएका छन् । महासचिव वैद्यले विज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन् ।

एमसीसी परियोजनालाई नेपालको संसद्बाट अनुमोदन गराउन अमेरिकाले चर्को दबाब दिएको भन्दै विज्ञप्तिमा भनेका छन्, ‘अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले पुनः अस्ति माघ २७ गते नेपाली काँग्रेसका सभापति तथा गठबन्धन सरकारका वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओली र नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहाललाई प्रत्यक्ष फोनबाट तोकिएको सीमाभित्र एमसीसी परियोजना संसद्बाट अनुमोदन गर्नु पर्ने र सो नगरे चीनको दबाबका कारण अनुमोदन हुन नसकेको भनी बुझ्ने भनेर शीर्ष नेताहरूलाई धम्क्याइएको कुरा अमेरिकी साम्राज्यवादको दादागिरी र एउटा सार्वभौम देशको राष्ट्रिय स्वाधीनतामाथिको ठाडो र नांङो हस्तक्षेप हो ।’

अमेरिकी साम्राज्यवादको यस प्रकारको प्रत्यक्ष हस्तक्षेप हुँदासमेत प्रतिवाद गर्नुको साटो नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले एकमतले एमसीसी परियोजनालाई अनुमोदन गर्ने निर्णय गर्नुलाई साम्राज्यवादको तावेदारी गरेको पार्टीको ठहर रहेको विज्ञप्तिमा जनाएका छन् ।

विज्ञप्तिमा भनेका छन्, ‘अमेरिकाले हाम्रै अनुरोधमा दिएको र हामीले नै अनुमोदन गर्छौ भनी प्रतिबद्धता जनाएको स्थितिमा अमेरिकी सरकारले परियोजनाबारे के हुँदैछ भनेर सोध्नु सामान्य कुरा हो भनी नेता श्यामशरण महतले अमेरिकी साम्राज्यवादको तावेदारी गरेको पार्टीको ठहर छ । एमाले र माकेले यसबारे अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया नदिएर अमेरिकी हस्तक्षेपप्रति मौन स्वीकृति जनाएको पनि पार्टीको बुझाइ छ । यो नेपालका शासक वर्गको अमेरिकी साम्राज्यवादप्रतिको चरम दलालीको अभिव्यक्ति हो ।’

अमेरिकी साम्राज्यवादको ठाडो प्रत्यक्ष हस्तक्षेपलाई राजनीतिक पार्टीहरूले गरेको अमेरिकी साम्राज्यवादको नाङ्गो दलालीलाई आफ्नो पार्टीले तीव्र भत्र्सना र घोर विरोध रहेको बताउँदै उनले एमसीसी परियोजनालाई खारेज गराउन र देशको सार्वभौमिकताको रक्षा गर्नका समेत अपिल पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्