Logo
Logo
कला

‘गाएरै जीवन धान्ने काम भएको छ’


6.2k
Shares

पछिल्लो समय एउटा गीत गाएर ‘भाइरल’ हुने प्रवृति फस्टाएको छ । सांगीतिक क्षेत्रमा देखिएको यो ‘भाइरल’ प्रवृतिले गला र प्रतिभा भएका कलाकारहरू भने मारमा पर्दै आएका छन् । लोकदोहारी गायिका पवित्रा सेर्तुङगे मगर यसैको एक उदाहरण हुन् । पवित्राले सांगीतिक क्षेत्र ८ वर्षभन्दा बढी बिताइसकेकी छन् । यस अवधिमा दुई सयभन्दा बढी गीत गाइसकेकी छन् । तर, उनी श्रोता एवं दर्शकको ओठमा झुण्डिन सकेकी छैनन् अर्थात मेहनत र संघर्षअनुसार चर्चामा आउन सकेकी छैनन् । पवित्रा भन्छिन्, ‘मिडियाको नजरमा पर्न गीत हिट हुनपर्ने रहेछ ।’ गुल्मी मुसिकोटकी पवित्राले बुटवलबाटै सांगीतिक करिअर सुरु गरेकी हुन् । पवित्राको केही दिनअघिमात्र ‘ए भेना’ बोलको कौरा सार्वजनिक भएको छ । गायिका पवित्रा मगरसँग दृष्टिको जम्काभेट :

हिजोआज के गर्दै हुनुहुन्छ ?

गीतसंगीतमै व्यस्त छु । भर्खरै मेरो कौरा सार्वजनिक गरेकी छु । ‘ए भेना’ बोलको उक्त कौरा मेरै आफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेकी हुँ । त्यसबाहेक दोहोरी साँझमा पनि गाउने काम गर्छु ।

कोरोना महामारीले गर्दा अहिले दोहोरी साँझ बन्द छ होइन र ?

अहिलेचाहिँ बन्द छ । तर, अब चाँडै खुल्ने कुरा हुँदैछ ।

दर्शक/श्रोतामाझ चिनिएकी गायिका हुनुहुन्छ । दोहोरी साँझमा गाउँदा रेस्पोन्स कस्तो आउँछ ?

अहिलेसम्म राम्रै प्रतिक्रिया पाइरहेकी छु । बाहिर बजारमा पनि चिनिएकी भएकाले होला, दोहोरी साँझामा आउनेहरूले सम्मानजनक व्यवहार गर्छन् ।

दोहोरी साँझमा गाउन थाल्नुभएको कति भयो ?

७/८ वर्ष भयो । बुटवलमा हुँदैदेखि दोहोरी साँझमा गाउन थालेकी हुँ ।

गीत रेकर्डिङ गरेर व्यवसायी रुपमा गायनमा लाग्नु भएको कति भयो ?

७/८ वर्ष नै भयो । मैले बुटवलबाटै गाउन सुरु गरेकी हुँ । सुरुमा गुल्मीबाट बुटवल झरेँ । त्यसपछि व्यवसायिक रुपमा गीतसंगीतलाई अँगालेकी हुँ । बुटवलमै मैले तीन-चार वटा गीत रेकर्ड गरेकी थिएँ ।

काठमाडौं सुरुमा केका लागि आउनुभएको थियो ?

गायन करिअरलाई अगाडि बढाउन भनेरै काठमाडौं आएकी हुँ । बुटवलमा गाउँदा गाउँदै गायनलाई वृहत रुपमै अगाडि बढाउने सोचले ६ वर्ष अगाडि काठमाडौं आएकी हुँ ।

काठमाडौं आएपछि गायन करिअर सोचेजस्तै भइरहेको छ त ?

सोचेजस्तो नभएपनि सन्तुष्ट छु । आफूलाई गायनमै व्यस्त बनाएकी छु । यो नै ठूलो कुरा हो ।

गायनमा लाग्ने रहर कसरी पलायो ?

सानैदेखि म गीत सुन्न मन पराउँथेँ । त्यसैले बढी रेडियो सुन्थेँ । रेडियोमा बजेका गीतहरू सुन्दासुन्दै गीत गाउन रहर जाग्यो ।

रेडियो सुनेरै गायिका बन्नु भएको हो ?

हाे, मैले गायन रोज्नुको पछाडि रेडियो नै हो । त्यसबेला रेडियो सुन्ने चलन बढी थियो । गीतहरू रेडियोमै बढी सुनिन्थ्यो । पछि पो गीत सुन्नेभन्दा हेर्ने चलन बढ्दै गयो ।

अहिलेसम्म कति वटा गीत गाउनुभयो ?

संख्यात्मक हिसाबले दुई सयभन्दा बढी गाएकी छु । तर, ती सबै चलेन । केही गीत चल्यो । साँच्चै भन्ने हो भने, प्रमोशन पनि गर्न सकिएन ।

यति धेरै गीत गाएर पनि ओझेलमा किन ?

ओझेलमा परेजस्तै भयो । चर्चामा आउनका लागि गीत हिट हुनुपर्ने रहेछ । मिडियाले पनि हिट भएकाहरूलाई मात्र खोज्छ जस्तो लाग्छ । मेरो सबै गीत हिट नभएर होला, मिडियाको नजरमा पर्न सकिएन । मिडियाहरूलाई मेरो बारेमा लेखिदिनु भन्न पनि अप्ठ्यारो ।

‘गायिका पवित्रा मगर’ भनेर चिनाउने गीत कुन हो ?

मैले बुटुवलमा हुँदै ‘विछोडको घाउ बल्झाउन आउँछ’ बोलको गीत गाएकी थिएँ । उक्त गीतले मलाई दर्शक तथा श्रोतामाझ चिनाएको हो ।

कस्ता गीत बढी गाउनुहुन्छ ?

बढीजसो लोकदोहोरी र लोक गीत गाउँछु । त्यसबाहेक कौरा, सालैजो पनि गाउँछु । मेरो गायनको प्याटन लोकदोहोरी नै हो ।

तपाइँको भर्खरै कौरा रिजिल भएको छ । कस्तो प्रतिक्रिया आइरहेको छ ?

राम्रै प्रतिक्रिया पाइरहेकी छु । उक्त कौरा मेरो आफ्नै अफिसियल युट्युब च्यानलबाट रिलिज गरेकी हुँ । त्यसैले सोचेजस्तो भ्युअर्स आएको छैन । तर, जतिले हेर्न भ्याए, उहाँहरूबाट राम्रै प्रतिक्रिया पाइरहेकी छु ।

तपाइँ आफ्नो पेशाबाट खुसी हुनुहुन्छ ?

खुसी नै छु । सोचेजस्तो चर्चा बटुल्न नसकेपनि गाएरै प्राण धान्ने काम भइरहेको छ । गीतसंगीत क्षेत्रबाटै आफ्नो लागि पु¥याएकी छु ।

जीवनलाई कसरी बुझ्नु भएको छ ?

जीवन भनेको संघर्ष हो । हरेक मानिसले संघर्ष गर्नुपर्छ । अहिले म त्यही संघर्ष गरिरहेकी छु ।

गायिका पवित्राको पछिल्लो कौरा यस्तो छ :

प्रतिक्रिया दिनुहोस्