काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीबारे ‘झिल्केमिल्के’ कुरा गरेर जनता अल्मलाउने काम गरेको बताएका छन् ।
शनिबार काठमाडौं महानगरपालिका–४ मा निर्माण गरिएको धुम्बाराही पार्कको उद्घाटन गर्दै नेता पोखरेलले प्रचण्डले एमसीसीबारे विदेशीसँग एउटा कुरा, कार्यकर्तासँग अर्को कुरा र जनतासँग बेग्लै कुरा गरेर ‘झिल्केमिल्के’ अभिव्यक्ति दिने गरेको आरोप लगाएका हुन् ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका पोखरेलले प्रचण्डको भनाइले जनतालाई अलमल्याउने र देशलाई गम्भीर नोक्सान पु¥याउने दावी गरे । उनले जनताको बीचमा फट्याईं कुरा गर्ने नेताहरुलाई चिनेर सचेत गराउन समेत सबैलाई आग्रह गरे ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पार्क, बगैंचालगायतका सार्वजनिक क्षेत्रहरुको सफाईमा ध्यान दिने र त्यसको सदुपयोग गरेर अघि बढ्ने काममा लाग्न स्थानीयबासीलाई आग्रह गरेका छन् ।