काठमाडौं । आजदेखि कुर्था–जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुने भएको छ । रेल सञ्चालनको समय पटक–पटक तोकिए पनि सफल हुन सकेको थिएन ।
नेपाल सरकारले बोगिसहितको दुई वटा रेल खरिद गरेको झण्डै १५ महिनापछि रेल सेवा सञ्चालन हुन लागेको हो । खरिद गरिएका रेल लामो समयदेखि धनुषाको इनवा स्टेसनमा त्रिपाल मुनि छोपिएर राखिएको थियो ।
नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार भारत सरकारको सहयोगमा निर्माण हुने जयनगर–विजलपुर–बर्दिबाससम्म ६९ किलोमिटर रेल मार्ग अन्तर्गत पहिलो चरणमा जयनगर–कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालनको हुन लागेको हो ।
रेल्वे सेवा नियमित सञ्चालनका लागि नेपाल रेल्वे कम्पनीले रेल ट्रेक नजिक रहेका हाट बजारहरू समेत खालि गराई सकेको छ । आइतबारदेखि नियमित रूपमा दैनिक एक पटक कुर्था–जयनगर सम्म रेल ओहोरदोहोर हुनेने उनको भनाई छ ।