Logo
Logo

प्रदेशको नामाकरण नहुँदा लाज लाग्ने स्थिति आयो : मन्त्री राई


1.3k
Shares

खोटाङ । प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले प्रदेशको नामाकरणमा ढिलासुस्ती हुँदा ‘लाज लाग्ने’ स्थिति आएको बताएका छन् ।

नेकपा (एकीकृत समाजवादी) पार्टी खोटाङले शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्माको शुभम–फाउण्डेसनमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री राईले सात प्रदेशमध्ये ६ प्रदेशले नामाकरण टुंग्याइसक्दा पनि प्रदेश १ को नामाकरण हुन नसक्दा सबैले ‘गिल्ला गर्ने’ अवस्था आएको बताएका हुन् ।

प्रदेश २ ले पहिचान र पाँच प्रदेशले भूगोलको आधारमा नामाकरण गरेको उल्लेख गर्दै मन्त्री राईले प्रदेश १ को नामाकरण पहिचान र भूगोलका आधारमा राख्नु सर्वस्वीकार्य हुने धारणा राखेका थिए ।

त्यस्तै मन्त्री राईले गठबन्धन जोगाउने नाममा एमसीसी पास गर्न नहुने पनि बताए । गठबन्धन जोगाउन भरपुर प्रयास गर्ने तर यसैका लागि एसीसी पास गर्न नहुने उनको भनाई छ ।

एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य समेत रहेका राईले वर्तमान गठबन्धन टुटे पनि यथास्थितिमा एसीसी पास गर्ने पक्षमा आफ्नो पार्टी नभएको स्पष्ट पारेका हुन् ।

‘लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र नेपाली जनताको सार्वभौमसत्ताको सुरक्षा गर्नका लागि गठबन्धन अहिलेको आवश्यकता हो । गठबन्धन जोगाउन हामी भरपुर प्रयास गर्छौं । तर एसीसी पास गर्ने सवालमा हो भने गठबन्धन हामीलाई आवश्यक छैन,’ मन्त्री राईले भने, ‘एसीसी यथास्थितिमा पास गर्न हुँदैन । एसीसी मुलुकको सन्दर्भमा उपयुक्त छैन । यथास्थितिमा एसीसी पास गरियो भने मुलुकको सार्वभौमसत्ता एवं लोकतान्त्रिक गणतन्त्रका लागि प्रतिकूल हुने प्रष्ट छ ।’

प्रतिक्रिया दिनुहोस्