काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश विरुद्धको महाअभियोग ‘अनुचित, अनुत्तरदायी र हानिकारक’ उद्देश्यबाट आएको बताएका छन् ।
प्रमुख विपक्षी दलका नेतासमेत रहेका ओलीले प्रधानन्यायाधीशविरुद्धको महाअभियोगलाई लिएर सत्ता गठबन्धनको कडा निन्दा गरेका छन् । आइतबार गठबन्धनका तीन दलले प्रधानन्यायाधीश विरुद्ध महाअभियोग प्रस्ताव पेस गरेसँगै ओलीले प्रतिक्रिया दिँदै भने, ‘महाअभियोग अनुचित, अनुत्तरदायी र हानिकारक ढंगले आयो । यो धरै गम्भीर कदम हो । अर्को भाषामा भन्ने हो भने गम्भीर षडयन्त्रको प्रकटीकरण हो ।’
उनले महाअभियोगको सिलसिलाको बिजारोपण गरेर सत्तापक्षले राज्यका अंगहरूलाई नियन्त्रण गर्ने र प्रतिपक्षसँगको सम्बन्ध तनावग्रस्त बनाउन खोजेको आरोप लगाउँदै वैशाख ३० मा घोषणा गरिएको स्थानीय तहको निर्वाचन रोक्ने षड्यन्त्र भएको बताए ।