काठमाडौं । नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ताको कदमलाई स्वागत गरेको छ ।
प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आइतबार गरिएको आन्दोलनका क्रममा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको बहिर्गमनका लागि दर्ता भएको महाअभियोग प्रस्तावको स्वागत गर्दै सफल हुने दावी गरे ।
उनले प्रधानन्यायाधीश मात्रै नभई अन्य न्यायाधीशलाई पनि बिचौलियाको काम रोक्दै आफुमा सुधार गर्न सुझाव दिए । न्यायपालिका सुधार भए अन्य बिषयलाई सुधार गर्न सकिने उनको भनाइ छ ।
श्रेष्ठले बारको आन्दोलन व्यक्तिको फाइदाको लागि नभएर समग्र न्यायपालिकाको सुधारका लािग भएको भन्दै प्रधानन्यायाधीशको बहिर्गमन नभएसम्म आन्दोलन जारी रहने बताए ।
त्यस्तै सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले महाअभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीशलाई सर्वोच्चमा बस्ने अनुमति नभएको र निलम्वित प्रधानन्यायाधीश भएको बताए । उनले अर्को प्रधानन्यायाधीशको सपथ नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पार ।
त्यसअघि आइतबार सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्न खोज्ने कानुन व्यवसायी र प्रहरीबीच झडप भएको थियो । बारले आइतबारदेखि पुन भौतिक उपस्थितिमा आन्दोलनका कार्यक्रमलाई अघि बढाएको हो ।