Logo
Logo

चार न्यायाधीशविरुद्ध महाअभियोग लगाउने एमालेको तयारी


22.7k
Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सत्तारुढ गठबन्धनका तीन दलले महाअभियोग प्रस्ताव दर्ता गरेसँगै प्रमुख प्रतिपक्षी नेकपा एमाले चिढिएको छ ।

प्रधानन्यायाधीशविरुद्ध गठबन्धनले ‘छापामार शैली’मा महाअभियोग लगाएको एमालेले प्रतिक्रिया दिइसकेको छ ।

एमालेले गठबन्धनलाई ‘काउन्टर’ गर्न चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारी गरेको छ । प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएसँगै एमालेले सोमबार संसदीय दलको बैठक बोलाएको छ । सो बैठकमा चार न्यायाधीशमाथि महाअभियोग लगाउनेबारे छलफल हुने एमाले स्रोतको भनाइ छ ।

एमालेले उपत्यका बाहिर रहेका आफ्ना सांसदहरुलाई समेत बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । एमालेले गत वर्षमा २३ फागुनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गर्ने फैसला सुनाउने चार वरिष्ठतम् न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराईविरुद्ध संसदमा महाअभियोग प्रस्ताव ल्याउने तयारी गरेको हो ।

उनीहरूविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन सांसदहरूको हस्ताक्षर सुरु गरिएको समेत स्रोतको भनाइ छ । आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारुढ गठबन्धनका तीन दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले महाअभियोग प्रस्ताव ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्