Logo
Logo

राप्रपा नेपालको अध्यक्ष बनेपछि कमल थापाले भने- फेरि हामी आफ्नै घर फर्कियौँ


22.7k
Shares

काठमाडौं । राप्रपा नेपालको अध्यक्ष भएपछि कमल थापाले आफू फेरि आफ्नै घरमा फर्किएको बताएका छन् । आइतबार राप्रपा नेपालमा आवद्ध भएसँगै अध्यक्ष भएका थापाले केही समयको अलमलपछि आफू पुनः पार्टीमा फर्किएको बताएका हुन् ।

उनले भने, ‘देशको धरातलीय यथार्थ एवं सहयोगी तथा शुभचिन्तक साथीको सुझावलाई मध्यनजर राख्दै हामीले राप्रपा नेपाललाई पुनर्जागृत गर्ने निर्णय गरेका छौं, ‘केही समयको अलमलपछि फेरि हामी आफ्नो घर फर्केका छौं ।’

पार्टी ठूलो बनाउने नाममा अति महत्वाकांक्षा र सत्ता केन्द्रित रणभुल्लमा परेको कमल थापाले स्वीकार गरेका छन् । उने भनेका छन्, ‘२०७३ सालदेखि हामीले बाटो विरायौं। पार्टी ठूलो बनाउने नाममा अति महत्वाकांक्षा र सत्ता केन्द्रित रणभुल्लमा पर्‍यौं। गम्भीर राजनीतिक भुलका श्रृखंलाहरु शुरू भए। असहज र गलत प्रवृत्तिहरुसंग सम्झौता गर्न थाल्यौं । फलस्वरुप हामी करिव पाँच वर्ष राष्ट्रिय राजनीतिमा करिव करिव निस्क्रिय, प्रभावविहिन हुन पुग्यौं ।’

राप्रपा नेपाल २०६३ सालको राजनीतिक परिवर्तन पछि अलग पहिचान, फरक विचार र वैकल्पिक मार्गचित्र बोकेर नेपालको राष्ट्रिय राजनीतिमा उदाएको राष्ट्रवादी प्रजातान्त्रिक शक्ति भएको थापाले जिकिर गरेका छन्।

राप्रपा नेपाल देशको भरपर्दो शक्ति बनेको भन्दै थापाले २०७० सालको संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीहरु पछिको तेस्रो ठूलो शक्तिको रुपमा राप्रपा नेपाल देखा परेको बताए । विगतका त्रुटि र कमिकमजोरी सच्याएर पुनः पुरानै ठाउँमा फर्किएको थापाले बताए।

‘नियतिले अन्ततः फेरि हामीलाई ठीक ठाउँमा ल्याईपुर्‍याएको छ। विगतका त्रुटि, कमजोरीहरुबाट पाठ सिकेर तथा गल्तिहरु सच्याएर फेरि एकपटक आफ्नो गन्तव्यतर्फ अग्रसर रहने अवसर हामीले पाएका छौं’, उनले भने, ‘बिचमा अवरुद्ध भएको हाम्रो यात्रा अब नयाँ उर्जा र अठोटका साथ अघि बढने छ । राष्ट्रियता, प्रजातन्त्र र उदारवादको चिन्तनमा आधारित ‘सम्बद्धनवाद’ को मुल शक्ति राप्रपा नेपाल हो भन्ने कुनै द्विविधा छैन।’

प्रतिक्रिया दिनुहोस्