धनुषा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनकै सल्लाहमा प्रधानन्याधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग लगाएको बताएका छन् ।
आज मधेस सरकारले जनकपुरमा गरेको जनयुद्ध दिवस कार्यक्रमपछि सञ्चारकर्मीसित कुरा गर्दै दाहालले सर्वोच्च अदालतको गतिरोध हटाउन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव संसद्मा दर्ता गरेको बताएका हुन् ।
उनले भने, ‘न्यायालयमा केही समयदेखि अन्योल, अराजकता र बेथिती देखियो । यो राज्य र जनताका लागि दुखद् कुरा थियो, सहज निकास होस भन्ने गठबन्धनको चाहना थियो । हामीले पहल पनि गर्यौं ।’
उनका अनुसार न्यायालयको बेथितीको प्रमुख जिम्मेवार प्रधानन्यायाधीश नै भएको र उपाय ननिस्केपछि गठबन्धनमा सहमति गरेर महाअभियोग लगाइएको हो । उनले भने, ‘महाअभियोग लगाएर गठबन्धन भत्किने होइन, बरु झन् बलियो हुन्छ । ’
सत्तारुढ कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीका ९८ जना सांसदले प्रधानन्यायाधीशविरुद्ध संसद् सचिवालयमा आइतबार महाभियोग प्रस्ताव दर्ता गरेका छन् ।