Logo
Logo
सस्मरण

जनयुद्धसँगको त्यो स्वार्थहीन सामिप्यता


सुनिल आङ्बो

53.2k
Shares

घरभन्दा माथिल्लो भेगमा सानो सरकारी विद्यालय छ । म त्यही पढ्थे । अक्षर पढ्न सक्थे । तर, अक्षरका सबै भावहरु पूर्णरुपमा बुझ्ने भइसकेको थिइनँ ! तर, पनि विद्यालयका भित्ताहरुमा रातो रंगले लेखिएका अक्षरहरुसँग एक किसिमको आत्मीयता अनुभूत गर्थे !

नेकपा माओवादी जिन्दावाद !
जनयुद्ध सफल पारौं !
राजतन्त्र मुर्दावाद !

सायद राता अक्षरहरुले मलाई चिनेनन् । तर, समयले प्रस्तुत नाराहरुसँग परिचित गरायो । राजपरिवारको तस्बिर छापिएका पुस्तकभन्दा राता अक्षरमा लेखिएका ‘राजतन्त्र मुर्दावाद !’ नाराहरुसँग आत्मीयता स्थापित भयो । राता अक्षरहरुसँग लगाव बढ्दा राजपरिवारको तस्बिर छापिएको पुस्तकसँग दूरी बढ्यो ।

भित्ताका राता अक्षरहरुले अनेक प्रश्नहरुको उत्तर खोज्न बाध्य बनायो । मन मस्तिष्कमा सधै के हो माओवादी ? के हो जनयुद्ध ? के होला माक्र्सवाद–लेनिनवाद–माओवाद ? के हो प्रचण्डपथ ? यस्तै–यस्तै प्रश्नहरुको सामना गरिरहेँ ।

यी प्रश्नहरुको जवाफ परिवार, साथीभाई, अग्रज, शिक्षक र जान्ने–बुझ्ने सबैसँग सोधिरहेँ । तर, उत्तर पाउन सकिनँ । पाएँ, अनेक त्रास !

चुप बस अहिले आर्मी बोलाइदिन्छु…
पार्टीको कुरा नगर्नु आर्मीले गोली ठोक्छ…
यस्तै यस्तै…

सुरक्षा नियकाप्रति बाल मस्तिष्कमा त्रास नै हुन्थ्यो । त्यसमाथि जनयुद्धको बेला माओवादीको कुरा गर्दा झनै खतरा हुने नै थिएछ ! त्यो समय आर्मी पुलिस भनेपछि म मात्र होइन, गाउँ नै थरर हुन्थ्यो । तर, जिद्दी मन कहाँ मान्थ्यो ! माओवादीप्रति मनमा उब्जेका प्रश्नहरु मत्थर हुने कुरै थिएन ।

०००

सुरुमा विद्यालयका भित्ताहरुमा लेखिएका राता अक्षरहरुसँग मात्र परिचित थिए । कालान्तारमा लेख्नेहरुलाई पनि नजिकबाट नियाल्न पाए ।

आर्मीकै जस्तो लुगा लगाउनेहरु
गोल्डस्टार जुत्ता लगाउनेहरु
तारा अंकित रातो कफन बाँध्नेहरु
बन्दुक भिरेर हिड्नेहरु
गाउँघरमा आएर आमा–बुबा भन्दै बोल्नेहरु

थाहा भयो– उनीहरुनै रहेछन् माओवादी, उनीहरुले नै लेखेका रहेछन् विद्यालयका भित्ताहरुमा– नेकपा (माओवादी) जिन्दावाद !

०००

माओवादी चिनियो । तर, माओवादीले लेखेका नाराहरुका भाव बुझ्न सहज थिएन । मनमा असंख्य प्रश्नहरु अझै उत्तर खोजिरहेका थिए ।

गाउँमा माओवादीको आवतजावत बाक्लो हुन थाल्यो । हाम्रै गाउँ टोललाई आधार क्षेत्र बनाए । पछि थाहा भयो– सुरक्षाको दृष्टिकोणमा दुर्गम गाउँ माओवादीका लागि सुरक्षित रहेछ । दुर्गम गाउँका उत्पीडित जनताको बलमा जनयुद्ध सफल पार्ने माओवादीको नीति रहेछ । गाउँबाट शहर घेर्दै जनयुद्ध सफल बनाउने माओवादीको योजना रहेछ ।

त्यो समय, जनयुद्ध निरंकुस राजतन्त्रविरुद्ध भन्ने थाहा थिएन । समानताको अभियान भन्ने थाहा थिएन । जनयुद्ध मुक्तिको एउटा बाटो भन्ने थाहा थिएन ।

यो समय, माओवादीको अभियान ठिक थियो भन्ने लाग्छ । व्यवस्था परिर्वतनका लागि माओवादीको नेतृत्वमा भएको सशस्त्र संर्घषको बाटो गलत थियो भन्ने लाग्दैन । तर, विचलित माओवादी हेर्दा बालमस्तिष्कमै स्थापित माओवादीसँगको आत्मीयता डगमगाएको छ ।

०००

गरिबीको सीमा थिएन । बेला बखत सीमित मात्रामा मासु खान पाइन्थ्यो । माओवादीहरु भने बोराका बोरा गोरुको मासु बोकेर आउँथे । ठूल कार्यक्रम हुँदा गाउँमै काट्थे । माओवादीले चलाएको मेससम्म पुग्न पाउँदा खान पनि पाइन्थ्यो ।

बेलैमा आइपे हेवा खोलामा विष्फोट गराएर माछा मार्थे । फर्केर आउँदा आमाको कुटाइ खान तयार भएर माछा मारेको हेर्न पुगिन्थ्यो ।

माओवादीको परेड हेर्न मज्जा हुन्थ्यो । तनक्क तन्केर बोलेको सुन्न रमाइलो लाग्दथ्यो । एकै खालको पोसाकमा लस्करै हिडेको देख्दा रहर लाग्थ्यो । गाउँमा माओवादीको बढ्दो गतिविधिले धेरैलाई माओवादी बनायो ।

०००

आज थाहा हुन्छ । त्यो समय जनयुद्ध उत्कर्षमा पुग्दै थियो । गाउँका धेरै माओवादी भए । थाहै नपाइ दाइ पनि माओवादी भइसकेछन् । एकसाता पछि मात्र पत्रमार्फत थाहा भयो । उनी जनयुद्धमा सामेल भएर पश्चिमको कुनै इलाका पुगिसकेका रहेछन् । त्यसबखत आमाले धेरै रात रोएर बिताएको अझै सम्झन्छु ।

दाजु जनयुद्धमा सामेल भएको १५ दिन जति पछि हुनुपर्छ ! एकहुल कमरेडहरु आइपुगे । असार साउनको समय थियो । लुथ्रुक्क भिजेको थिए । खेतको मकै भाचेर सिकुवामा थुपारेका थियौं ।

आमा नमस्कार ! महिला कमरेड भान्साघर छिरे । ‘आज एकरात यहीँ बस्छौं है आमा’ उनको अनुरोध थियो । हुन्छ भन्नुको विकल्प थिएन । सायद धेरै भोक लागेको थियो । छिनमै तीन घोगा मधै पोलेर खाइसके । सायद, उनी कमाण्डर थिइन । साथीहरुलाई निर्देशन दिए । काममा खटाए ।

अरु कमरेडहरुले सोध्न थाले– आमा हाम्रो चामल कता होला ? हाम्रो तरकारी के होला ?

‘नानी म निकालिदिन्छु’ भनेर आमा पल्लो घर प्रस्थान गरे । मलाई अनौठो लाग्ने कुरा भएन । गरिबीको पिरलो थाहा पाउने भइसकेको थिए । अलि धेरै मात्रामा खाना पाक्न माग्नै पथ्र्यो ।

खाना पकाउन तयार भएका कमरेडहरु कोहि सिमि टिप्न बारितिर लागे, कोही अरु तयारीमा जुटे ।

मंगोलियन मुलकी एक कमरेड आमसँग कुरा गर्दै थिए । उनको नाम ‘सपना’ हुनुपर्छ । म सुन्दै थिए । उनैले नाम के हो भन्दै मायालु भावमा सोधि । मैले नाम बताए । माओवादीप्रति मनमा उब्जेका अनेकौं प्रश्नको जवाफ खोज्ने यो भन्दा उत्तम अवसर अरु थिएन ।

मेरा अनेकौं प्रश्नहरु धाराप्रवाह राख्दै गए । मलाई सम्झाउने क्रममा कमरेड सपनाको मुखबाट दोस्रोपटक ‘सर्वहारा गर्व’ शब्द सुनेको थिए । त्योभन्दा पहिला विद्यालयको भित्तामा पढेको थिए । तर, बुझेको थिइन । नबुझेको कुरा तुरुन्तै सोध्ने मेरो बानी । अझै पनि उस्तै छु । त्यहीँ बेला कमरेड सपनालाई सोधे– सर्वहारा वर्ग भनेको के हो ?

उनले सैद्धान्तिक रुपमा बुझाएको भए सायद बुझ्ने थिइनँ । तर मैले बुझ्ने भाषामा सर्वहारा वर्गको व्याख्या गरेर बुझाउने कोसिस गरिन् । बालमस्तिष्कले जति बुझ्यो त्यो नै काफी थियो । गरिब दुःखीको पक्षमा काम गर्ने नै माओवादी हुन् भनेर कमरेड सापनामार्फत बुझेको थिए । त्यसपछि माओवादीसँग झनै सामिप्यता बढ्यो ।

०००

कमरेड सपनाले बुझाएको माओवादी र गाउँघर आउने माओवादीको व्यवहार मेल खान्थ्यो । माओवादीहरु अनुशासित थिए । कहिलेकाहीँ गाउँ आउँदा काम सघाउथे । आफूले खाएको थाल आफै पखाल्थे, भाडाकुडा आफै सफा गर्थे । सेल्टरबाट निस्कदा कोठाहरु सफा गर्थे । गयौं है आमा ! भनेर विदा माग्थे । झोलितुम्बी भिरेर बाटो लाग्थे । आमा आखाँले देखिन्जेल हेरिपठाउनु हुन्थ्यो ।

०००

भित्तामा सजाइएको राजपरिवारको फोटो देखेर सपना कमरेडले उनीहरुको कुकृत्यबारे बुझाएका थिए । त्यसपछि लागेको थियो– यति नराम्रा मानिसहरुको फोटो हाम्रो घरमा किन सजाइएको होला !

घरमा सजाइएको राजपरिवारको फोटो च्यातेर फाल्ने साहस त थिएन । पाठ्यपुस्तकमा छापिएको राजपरिवारको तस्बिर च्यात्ने हिम्मत गरे । सायद त्यस विन्दुमार्फत आफूलाई कान्तिकारी कित्तामा उभ्याउने प्रयत्न गरे ।

०००

साँझ पर्नै लागेको थियो । विद्यालयबाट भर्खर घर आइपुगेको थिए । एक हुल कमरेडहरु आइपुगे । नमस्कार आमा ! भनेर औपचारिकता पूरा गरे ।

फूल बार्न दुई लिङ्गो बाँस ल्याएका थियौं । कमरेडहरुको हुलले बाँस मागे । सोही बाँसको भाटा बनाए । साँझ परिसक्न लगेको थियो । पट्टी बाँधिएको अवस्थामा एक महिला र पुरुष ल्याएर अरु कमरेडहरु आए । पट्टि खोल्दा थाहा भयो– उनीहरु हाम्रै छिमेकी रहेछन् ! त्यसपछि भाटे कारवाही सुरु भयो…

कमरेडहरुको त्यो भाटे कारवाही सम्झदा अझै आङ सिरिङ हुन्छ । तर त्यो बेला किन यसो गरेको ? भनेर सोध्ने हिम्मत कोहीसँग थिएन, हुने कुरा भएन । भरै थाहा भयो– त्यो बहुविवाहको साजय थिएछ ! भाटे कारवाहीपछि ति महिला र पुरुषलाई देखेको छैन । सुनेअनुसार उनीहरु भारतको कुनै गाउँमा जीवन धान्दै छन् ।

०००

जनयुद्ध शान्तिपूर्ण राजनीतिमा अवतरण नगरेसम्म यस्ता धेरै घटना देखियो । जनयुद्धको क्रममा चन्दा संकलन कति चल्यो–चल्यो । हामीले दिएको चन्दा जोड्दा पनि लाखौं हुन्छ । घरमा अझै पनि माओवादीलाई दिएको चन्दाको अधकट्टी छ ।

सुख र समृद्धिको चाहनाले बुबालाई रेगिस्तान पुर्याएको थियो । बुबाले पठाएको पैसाको थोरै हिस्सा माओवादीको हुन्थ्यो । आमा सदरमुकामबाट पैसा दिएर घर आइपुग्दा नपुग्दै कमरेडहरु आइपुग्थे । पार्टीलाई सहयोग गर्नुपर्यो भन्थे । आज सम्झदा हामीबाट लिएरको त्यो रकम पार्टीकै काममा प्रयोग हुन्थ्यो झै लाग्दैन ।

पार्टीको लागि भन्दै सहयोग माग्थे । तर, हाम्रो गाँस खोसिन्थ्यो । तर पनि, माओवादीप्रति कहिले घृणाभाव पैदा भएन । आमाले कहिले माओवादीप्रति दूरभाव राख्नु भएन ।

०००

समय बित्दै गयो । माओवादी हुने चाहना बड्दै गयो । तर, सम्भव थिएन । मुलघरको एउटा घर खाली थियो । दुबोले ढाकेको ठूलो अगान थियो । हरेक दिन एक भारी घाँस काटेपछि माओवादीकै नक्कल गर्थे । माओवादी जस्तै परेड खेल्थे, माओवादी जस्तै भाषण गर्न खोज्थे ।

समय क्रमसँगै माओवादीको उपस्थिति बाक्लिदै गयो । उत्तिकै मात्रामा शाही सेना पनि आउन थाले । धन्न भन्नुपर्छ– माओवादी र शाही सेना आमनेसामने भएनन् । गाउँमा कुनै क्षति भएन । शाही सेना आउँदा डर लाग्थ्यो । तर, माओवादी आउँदा दाजुभाई आएजस्तो हुन्थ्यो ।

०००

मिति याद भएन । गाउँ नै झपक्कै ढाक्ने गरी माओवादी आएका थिए । प्राङ्बुङको भैँसेसम्म हिडेको रहेछन् । यसपालि भने गाउँ शसंकित थियो । किनकी, लामो ताँतीमा घाइतेहरु पनि थिए ।

उमेरले अलि पाको कमरेड ‘सेवारो छोरी’ भन्दै हाम्रो भान्साघर छिरे । पछि थाहा भयो– उनी भक्तराज कन्दङवा रहेछन् । सेवारो भन्ने कमरेड पहिलोपटक हाम्रो घर आएका थिए । अघिपछि आउनेले त नमस्कार मात्र भन्थे ।

भक्तराज कमरेडले लिम्बू भाषामा भने– थि वा बी नानी ? मदिरापान गर्नेलाई कारवाही गर्दै आएका कमरेडले जाँड छ नानी ? भनेर सोधेको सुन्दा अचम्म लाग्यो । आमाले पनि कसरी छ भन्न सक्नु हुन्थ्यो होला र ! मैले बोलिहालेछु– वा !

आमा डराउनु भयो । भक्तराज कमरेडले सम्झाए– ‘छोरी नडराउनु । हामी त्यस्तो नचाइदो काम गर्दैनांै । खाएर फटाइ गर्नेहरुलाई मात्र कारबाही गर्छौं ।’

आमाले सुटुक्कै छानेर दिए । उहाँले एक श्वासमा घुड्की मार्नुभयो । मैलै दुईवटा लेक्टोपन पाए ।

भद्र भक्तराज । आमासँग लिम्बू भाषामा कुराकानी गर्नुभयो । मसँग पर्वते भाषमा केही कुरा गर्नुभयो । मौका पारेर अस्ति भाटे कारवाही गरिएका छिमेकीबारे सोधे । समाजमा विकृती ल्याएकाले कारवाही गरिएको भन्दै मैले बुझ्ने भाषामा सम्झाए ।

जनयुद्धका यस्ता अनेक दृश्यहरु आँखामा अझै झलझली छन् …

०००

जनताको साथ पाउँदा सिंह झै गर्जने माओवादीहरु जनतासँग टाढा भएर शहर पस्दा शहर पसेको स्याल जस्तै भएका छन् । आक्कल झुक्कल गाउँ छिरेकाहरु ब्वाँसा जस्तै भएका छन् । सायद कमरेडहरु आज यी तमाम प्रश्नहरुको जवाफा दिने हैसियत छैनन् । लायक छैनन् ।

जनताको निम्ति सत्ता स्थापित गर्नु जनयुद्धको प्रमुख उदेश्य थियो । जसका लागि सबै खाले समस्याहरु हल गर्नु माओवादीको कार्यभार थियो । सामान्तवादलाई ध्वस्त पारी नयाँ जनवादी क्रान्ति पूरा गर्ने र समाजवादी क्रान्तिमार्फत सर्वहारा वर्गको अधिनायकत्व स्थापित गर्नु माओवादीको घोषित नीति नै थियो ।

क्रान्तिको माध्यमबाट सबैखाले समस्याहरु हल गर्दै मानव जातिकै स्वर्णिम युग साम्यवाद प्रस्थानविन्दुको रुपमा माओवादीले जनयुद्धलाई स्थापित गर्न खोजेको थियो । माओवादीले त्यो समय भन्ने गरेको थियो–

‘एकपटक हतियार उठाएपछि त्यसलाई अन्त्यसम्म लैजाने दृढताबिना सशस्त्र संघर्षको थालनि गर्नु सर्वहारा वर्ग एवं आमजनताप्रति अपराध हुने कुरामा हामी दृढ छौँ ।’

आज आफ्नै धारणाको आलोक र आफ्नै सुरुवातको पृष्टभूमीबाट माओवादीलाई हेर्दा निक्कै पर पुगिसकेको छ । जनताका लागि तय गरेको यात्रा गन्तव्यसम्म नपुर्याए अपराध हुन्छ भन्ने माओवादी मान्यता आज सावित भएको छ । अर्थात माओवादी आफैले तय गरेको यात्रा गन्तव्यसम्म पुग्न सकेन । माओवादी अलमलमा पर्यो, माओवादीले उठाएका मुद्धाहरु असरल्ल छन् ।

जनयुद्धका क्रममा माओवादीले भनेको थियो–
‘यो संघर्ष जनताको मनस्थितिमा आंसिक सुधार गर्ने र प्रतिक्रियावादीहरुलाई दवाव दिई सामान्य सम्झौतामा टुंग्याउने साधन बन्न कदापि दिइने छैन ।’

तर, माओवादीले जे सोच्यो त्यो भएन । जे गर्न चाहेको थियो त्यो गर्न सकेन । जनताको मनस्थितिमा सामान्य सुधार मात्र आयो । जनयुद्ध सामान्य सम्झौतामा टुंग्याउने साधान नै भयो । माओवादीले युद्ध जितेन, सम्झौतामा टुङ्ग्यायो ।

राज्यसत्ता हातमा लिएर जनतलाई राज्यसत्ता सुम्पने माओवादीको आधारभूत चाहना आंसिक रुपमा पूरा भएकै हो । जनताकै साथले संसदीय राजनीतिमा माओवादी स्थापित त भयो । तर, आज माओवादी जनतासँग गरेका बाचाहरु पूरा गर्न नसक्ने अवस्थामा पुगेको छ ।

०००

समयक्रमले माओवादीलाई शान्ति प्रकृयामार्फत शान्तिपूर्ण राजनीतिमा अवतरण गरायो । त्यसपछि कमरेडहरु गाउँ आउन छोडे । सँगै सिठोपिठो खाने पल त्यसपछि जुरेन । मेरो अबोध चेतनाले विनास्वार्थ स्वीकार गरेको माओवादी म बाट निक्कै टाढा भएर गयो ।

माओवादीसँगको सामिप्यताले माओवादी के हो ? भन्ने मेरा प्रश्नहरुको उत्तर त भेटायो । तर, माओवादीसँगको विछोडपछि माओवादी के हो ? भन्ने भन्दा ठूला प्रश्नहरुले आज गाँजिरहेको छ ।

आज आफैलाई प्रश्न गर्छु– जनताको मुक्तिको निम्ति कफन बाँधेर हिडेका कमरेडहरु किन विचलित भएका होलान् ? प्रतिवद्धताहरु किन भुलेका होलान् ? यति ठूलो संघर्षमा सामेल भएकाहरु किन आज साना–साना कुराहरुमा लोभिएका होला ? किन आफ्नो वर्ग भूलेका होलान ?

०००

जनयुद्ध बाध्यता र आवश्यकता थियो । यस अर्थमा जनयुद्ध ऐतिहासिक कदम थियो । हजारौंको बलिदानमा स्थापित वर्तमान व्यवस्था जनयुद्धकै देन हो । ‘जनयुद्ध दिवस’को अवसरमा वीर शहीदहरुप्रति हार्दिक श्रद्वासुमन !

प्रतिक्रिया दिनुहोस्