काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सत्ता गठबन्धनले महाअभियोग लगाएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि काउन्टर महाअभियोगको तयारी सुरु गरेको छ । त्यसका लागि हस्ताक्षर संकलन सुरू गरेकाे छ ।
गठबन्धनका तीन दलका ९८ सांसदको हस्ताक्षरसहित आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् । त्यसलाई काउन्टर दिन एमालेले सभामुखसहित केही न्यायाधीशलाई महाअभियोग लगाउने तयारी गरेको छ ।
महाअभियोगबारे छलफल गर्न एमालेले आइतबार नै आजका लागि संसदीय बैठक बोलाएको थियो । अहिले बसिरहेको छ । यस बैठकबाटै हस्ताक्षर संकलन गरी महाभियोगको प्रस्ताव तयार पार्ने एमालेका एक नेताले बताएका छन् ।
आइतबार साँझ पार्टी अध्यक्ष केपी ओलीको निवासमा बसेको एमाले सचिवालयको बैठकले चोलेन्द्रशमशेर जबरामाथि लागेको महाभियोगको प्रतिवाद गर्ने निर्णय गरेको थियो । सोही प्रतिवादको तयारीका लागि एमालेले संसदीय दलको बैठक बोलाएको हो । आजको बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरुलाई निर्देशन दिइएको छ ।
एमालेले विशेषगरी सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाअभियोग ल्याउने तयारी गरेको छ । सभामुखले आजका लागि बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गर्ने निर्णय गर्दै आजै सभामुखविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेको स्रोतको भनाइ छ ।