Logo
Logo

एमालेका पाँच सांसदद्वारा खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार


4.7k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमाले संसदीय दलको बैठकमा पाँच सांसदले खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् ।

सांसदहरू भीमबहादुर रावल, घनश्याम भुसाल, पवित्रा निरौला खरेल, झपटबहादुर रावल र दीपकप्रकाश भट्टले खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा सोमबार बसेको संसदीय दलको बैठकमा चार फाइलमा राखिएका खाली कागजमा छुट्टाछुट्टै हस्ताक्षर गराइएको थियो ।

ती कागजमा हस्ताक्षर गर्न रावलले लिखितरूपमा नै असहमति राखेका थिए । अन्य चार सांसदले पनि त्यसमा मौखिक कुरा राख्दै हस्ताक्षर गर्न अस्वीकार गरेका थिए ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै झपट रावलले भने, ‘चारवटा फाइलमा छुट्टाछुट्टै हस्ताक्षर गराउन खाली कागज ल्याइएको थियो । के प्रयोजनका लागि हो भन्ने थाहा नपाई हस्ताक्षर गरिएन । ’

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सांसदहरूको हस्ताक्षर संकलन गरेको र शीर्ष नेतृत्वको निर्णयपछि अघि बढ्ने बताएका छन् । जबराविरुद्धको महाअभियोगको विरोधमा एमालेले काउन्टर महाअभियोग ल्याउने तयारी रहेको सांसद कृष्णभक्त पोखरेलले अनलाइनखबरलाई बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्