काठमाडौं । सर्वोच्च अदालतमा आज बसेको न्यायाधीशहरूको बैठकले शुक्रबार पूर्ण बैठक ‘फुलकोर्ट’ डाक्ने निर्णय गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भएर निलम्बित भएपछि कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीद्वारा न्यायाधीशहरुलाई सोमबार छलफल डाकेका थिए । बैठकले शुक्रबार फुलकोर्ट बैठक डाक्ने निर्णय गरेको हो ।
साथै आन्दोलनरत नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनसँग छलफल गरी समस्याको निकास खोज्ने सहमति भएको छ । त्यसका लागि केही न्यायाधीशलाई जिम्मा दिने तयारी भइरहेको स्रोतको दावी छ ।
नेपाल बार एसोसिएसनको आग्रहबमोजिम १२ बजेबाट मात्रै सुरु हुँदै आएको इजलास अब बिहान ११ बजेबाट नै सुरु गर्ने विषयमा पनि छलफल भएको छ । यस विषयमा सहमति भइसके पनि सार्वजनिक गर्न बाँकी रहेको बताइएको छ ।