काठमाडौं । करिब तीन महिनायता इजलाश बाहिर रहेका चोलेन्द्र शमशेर जबराले मुद्दा नहरेपनि सेटिङ भने चलाइरहेका थिए । सर्वाेच्चकै अन्य न्यायाधीशहरूले उनीसँग बेन्ज सेयरिङ नगर्ने बताएपछि नैतिक संकटमा रहेका उनले मुद्दा हेरेका थिएनन् ।
इजलासमा नबसे पनि न्यायालयमा उनको सेटिङ भने रोकिएको थिएन । सर्वाेच्चमा गोला प्रक्रियामार्फत पेसी तोक्न थालेपछि उनले उच्च अदालत पाटनबाट आफ्नो सेटिङको काम चलाइरहेको स्रोत बताउँछ । उच्च अदालतमा जबराले नवराज थपलियालगायत निकटस्थ न्यायाधीशहरूलाई राखेका थिए ।
यसबीचमा उच्च अदालतबाट केही विवादास्पद फैसला भएका छन् । बलात्कार मुद्दाका आरोपीलाई धरौटीमा छाड्नेदेखि राजस्व चुहावट मुद्दामा सफाइ दिने फैसला भएको अदालत स्रोत बताउँछ ।
जबर्जस्ती करणी मुद्दाका आरोपीलाई पनि उच्चले एक लाख धरौटीमा छाडेको थियो । ६ माघमा उच्चका न्यायाधीशद्वय भोजराज अधिकारी र जगदीश घिमिरेको इजलासले आरोपी पशुपति मैनालीलाई धरौटीमा छाडेपछि अहिले पीडित असुरक्षित महसुस गर्दै प्रहरीमा पुगेकी छिन् । दुवैजना गेस्टहाउसमा तीन घन्टा बसेको देखिएको भन्ने आधारमा गम्भीर मुद्दाका आरोपीलाई उच्चबाट धरौटीमा छाड्ने आदेश भएको थियो । यो फैसलाले उच्च अदालत नै विवादमा तानिएको छ ।
गत २० पुसमा राजेशकुमार अग्रवाललगायत चारजनालाई राजस्व छली मुद्दामा सफाइ भएको थियो । भोजराज सुवेदी र विमल सुवेदीको इजलासले सो फैसला गरेको थियो ।
गत १८ पुसमा दुर्गाबहादुर विश्वकर्मा र रामबहादुर थापाको इजलासले ४३ करोडको राजस्व छली मुद्दामा आंशिक मात्र अभियोग दाबी पुग्ने फैसला भएको छ । राजस्व चुहावटका अन्य मुद्दाहरूमा पनि आरोपीलाई न्यूनतम धरौटीमा छाड्ने आदेश भएको स्रोत बताउँछ ।
अदालतमा बिचौलियामार्फत सेटिङ चलाएको आरोपमा उनीविरुद्ध आइतबार महाअभियोग दर्ता भइसकेको छ । उनको सम्पत्तिको समेत छानबिन भइरहेको छ ।