काठमाडौं । अमेरिकी सहयोग सम्बन्धि सम्झौता मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बारे भ्रम चिर्न नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई आग्रह गरेको छ ।
बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकमा एमसीसीबारे बोल्दै नेताहरुले जनतामा पुगेर भ्रम चिर्न आग्रह गरेका हुन् ।
सांसद नरहेका कांग्रेस नेता डा. रामशरण महतले एमसीसीबारे बैठकमा ब्रिफिङ गरेका थिए । बैठकमा बोल्ने अन्य नेता पनि एमसीसीबारे नागरिकमा व्याप्त भ्रम चिर्नका लागि लाग्नु पर्ने बताएका थिए ।
पूर्व अर्थमन्त्री मतले सांसदहरुलाई एमसीसी सैन्य रणनीति नभइ विकास परियोजना रहेको ब्रिफिङ गर्दै यसबारे अनावश्यक भ्रम फैलाइएको बताएका थिए ।
कांग्रेस संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा तत्कालै एमसीसी संसदबाट पास गर्ने पक्षमा रहेका छन् । उनले सत्ता गठबन्धनमा समेत एमसीसी पास गर्न सहमति जुटाउन प्रयास गरिरहेका छन् ।