काठमाडौं । दरबारमार्गस्थित ग्रिन लाइन सेन्टरका मालिक अमित अग्रवालको परिवार नै अचानक बेपत्ता भएपछि काठमाडौंमा उक्त घटनाले चर्चा पायो । बैंकहरु तनावमा भए । अचानक उनीहरु काठमाडौं फर्किएपछि घटनाको वास्तविकता उजागर हुन थालेको छ । यस घटनाले प्रहरी र मिटरब्याजीहरुको सम्बन्ध बाहिर आउन थालेको छ । उच्च प्रहरी अधिकारीको आडमा मिटर ब्याजको धन्दा चल्ने गरेको सो घटनाले देखाएको छ ।
अग्रवाल परिवारलाई चर्काे ब्याजमा पैसा लगानी गर्नेहरु उच्च प्रहरी अधिकारीका साथी हुन् । त्यसमध्ये कतिपयले प्रहरीमार्फत आफ्नो पैसा उठाउने प्रयास थालिसकेका छन् । त्यसका लागि काठमाडौंका प्रहरी प्रमुख एसएसपी सुदीप गिरीलाई उच्च प्रहरी अधिकारीले दबाब दिएको स्रोत बताउँछ ।
त्यसरी पैसा लगाउनेमध्ये एक हुन् व्यापारी रुपेश पाण्डे । दरबारमार्गमा ब्राण्डेड सामानको पसल चलाउने उनी रातारात करोडपछि बनेका व्यक्ति हुन् । मिटरब्याज लगायतकै कामबाट उनले यस्तो आर्थिक प्रगति गरेको स्रोत बताउँछ । उनको नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका उच्च अधिकारीसँग सम्बन्ध छ । मिटरब्याजमा फसेको पैसा उठाउन उनले तिनै प्रहरी अधिकारीलाई प्रयोग गर्दै आएका छन् । अग्रवाल परिवारलाई भाग्न बाध्य बनाउने पनि उनी लगायतका व्यक्ति भएको स्रोत बताउँछ । अर्का एक व्यक्तिले १० करोड रुपैयाँ मिटर ब्याजमा अग्रवाल परिवारलाई लगाएको खुलेको छ ।
अग्रवाल परिवारले बैंक र व्यक्तिको गरेर करिब एक अर्ब रुपैयाँ तिर्न बाँकी छ । उनीहरुसँग त्यो भन्दा कम धितो छ । उनको मदिरा पसल र घर बैैंकहरुले लिलामी प्रक्रियामा अघि बढाइसकेका छन् । तर, चार वटा बैंकको धितो भएकाले कसरी उनीहरुले एउटै धितोबाट कर्जा उठाउँछन् भन्ने प्रश्न समेत उठेको छ । यस्तो अवस्थामा मिटर ब्याज लगाउनेहरुको समेत पैसा डुब्ने अवस्था भएपछि प्रहरीलाई प्रयोग गर्न लागिएको छ ।
हालै होटल सञ्चालक राजु अवालेले प्रहरी अधिकारीकै पैसा मिटरब्याजमा चलाउँदै आएको प्रष्ट भइसकेको छ । अवाले जस्तै अन्य धेरै व्यक्तिहरु यस्तो धन्दामा छन् । जसलाई प्रहरी अधिकारीहरुको साथ छ ।
केही वर्षअघिसम्म काभ्रेका वीरेन्द्रलाल श्रेष्ठ प्रहरीका मिटरब्याजीका रुपमा कुख्यात थिए । उनको सञ्जाल कमजोर भएपछि अहिले नयाँ समूहहरु सक्रिय भएका छन् । त्यस्ता समूहसँग प्रहरीको साँठगाँठ डरलाग्दो छ ।