एजेन्सी । युईएफए च्याम्पियन्स लिग अन्तर्गत नकआउट चरणका खेलहरु आजबाट शुरु हुँदैछ ।
आज हुने अन्तिम १६ को पहिलो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र स्पेनिस् क्लब रियल म्याड्रिड भिड्दैछन् । पार्क डेस प्रिन्सेसमा हुने खेल नेपाली समय अनुसार राति १ः४५ बजे शुरु हुनेछ ।
पहिलोपटक च्याम्पियन्स लिग जित्ने लक्ष्यसाथ बार्सिलोनाबाट लियोनल मेस्सीलाई भित्र्याएको पीएसजी रियल म्याड्रिडलाई पराजित गर्दै क्वाटरफाइनलको बाटो तय गर्न चाहन्छ । पीएसजी समूह ‘ए’बाट दोस्रो स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको हो ।
पीएसजी गत सिजन सेमिफाइनलमा म्यानचेस्टर सिटीसँग पराजित भएको थियो । २०१९-२० सिजनमा पीएसजी फाइनलमा पुगेपनि उपाधिबाट वन्चित भएको थियो ।
यता प्रतियोगिताको सर्वाधिक सफल टोली रियल म्याड्रिड यस सिजन डबल जित्ने लक्ष्यमा रहेको छ । घरेलु लिगको शीर्ष स्थानमा रहेको म्याड्रिड समूह ‘डी’बाट शिर्ष स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको थियो ।