Logo
Logo

ताना शर्मा जसले भारतमा तारानाथ भण्डारी त्यागे


3.2k
Shares

इलाम । ताना शर्मा नामबाट समेत परिचित तारानाथ शर्मा नेपाली साहित्य आकासमा चर्चित नाम हो । शर्माको आज बिहान निधन भएको छ । उनको भौतिक शरीर अब हामीमाझ नरहे पनि नेपाली साहित्य क्षेत्रमा उनले छोडेका अमूल्य कृतिहरुले भने उनले अमर राख्नेछन् ।

इलाममा जन्मनुभएका उनको कर्मथलो भने काठमाडौँ थियो । आज काठमाडौँस्थित आफ्नै निवासमा निधन भएको हो । उनी मधुमेहबाट पीडित थिए ।

लेखनमा रमाउने शर्मा अस्वस्थताका कारण पछिल्लो डेढ वर्षयता भने साहित्य लेखनमा सक्रिय थिए । उनमा पछिल्लो समय बिर्सने समस्या देखिएको थियो ।

प्रख्यात समालोचक तथा लेखक शर्माको जन्म विसं १९९१ असार ९ गते निर्जला एकादशीका दिन भएको थियो । पिता प्रजापति उपाध्याय र माता देवकीको जेठो छोराका रूपमा इलाम सूर्योदय नगरपालिका–९ बरबोटेमा जन्मेका उनको पठनपाठन संस्कृत शिक्षाबाट सुरु भएको हो ।

अङ्ग्रेजी साहित्यमा एमए र भाषा विज्ञानमा विद्यावारिधि गरेको उनी मदन पुरस्कार, साझा पुरस्कार लगायतबाट सम्मानित भइसकेका व्यक्तित्व हुन् ।

उनका कृति ‘बेलाइततिर बरालिँदा’ले २०२६ सालमा मदन पुरस्कार पाएको थियो भने ‘सम र समका कृति’ ले २०२९ सालमा साझा पुरस्कार पाउन सफल भएको थियो । विसं २०२३ मा रत्नश्री स्वर्णपदक र २०३९ सालमा सर्वश्रेष्ठ पाठ्यपुस्तक लेखन पुरस्कारसमेत पाएका थिए ।

डा. शर्माले निबन्धबाट लेखन सहित्यक यात्रा सुरु गरेका थिए
। उनले २००८ सालमा थिओडर मेननको सम्पादनमा दार्जिलिङबाट निस्कने ‘साथी’ साप्ताहिक पत्रिकामा ‘इलाम’ शीर्षकमा निबन्ध छापेका थिए ।

उनले अध्ययनकै सिलसिलामा भारतको खर्साङ छँदा ‘आह्वान’ हस्तलिखित पत्रिका निकालेका थिए । ‘हिमध्वनि’ पत्रिकाको सम्पादकसमेत रहेर काम गरेका उनको प्रकाशितमध्येको अन्तिम कृति ‘चरी भरर’ निबन्ध संग्रह थियो ।

उनको थर भण्डारी हो । उनले भारत बसेकै बेला भण्डारी थर लेख्न छोडेर शर्मा लेख्न थालेका हुन् । उनी कविता पनि लेख्थे । उनका कविता भने थोरै मात्र छन् ।

ताना शर्माले बनारसमा पढ्दा २०१३ सालमा बालकृष्ण पोखरेल, चुडामणि रेग्मी, कोषराज रेग्मी, बल्लभमणि दहाललगायतसँग मिलेर झर्रोवादी अभियान थालेका थिए ।

सो अभियान अहिले पनि नेपाली साहित्यका क्षेत्रमा अस्तित्वमा छ । नौलो पाइलो नामक पत्रिका प्रकाशन सुरु गरेका शर्माले झर्रोवादबारे विभिन्न पत्रिकामा लेखसमेत लेखेका छन् ।

उनको अभियानलाई नेपाली भाषा र साहित्य लेखन क्षेत्रका धेरैले साथ दिएका थिए । शर्माले एकताका शर्माको सट्टा सर्मा लेख्ने गरेका थिए । जुन झर्रोवादमा नै पर्ने उनको तर्क थियो ।

बनारसमा पढ्दा उनलाई आफ्नो थर ‘भण्डारी’ भारतीय जस्तो लागेर शर्मा लेख्न थालेको उनी सुनाउँथे । थर फेरेर घर पुग्दा बुबाले गुनासो गरेका थिए ।

एउटा पुस्तकमा ‘इदं पुस्तकम् प्रजापति शर्मणः’ लेखेको पत्ता लगाएपछि त्यसैको तर्कका आधारमा बुबाको चित्त बुझाएको पनि उनले सुनाएका थिए ।

तारानाथ विद्यार्थी छँदै विभिन्न पत्रिकामा लेख तथा समालोचना छाप्थे । उनको पहिलो पुस्तक ‘नमस्ते’ निबन्ध सङ्ग्रह हो । रत्नपुस्तक भण्डारले २०१८ सालमा छापेको सो पुस्तक चर्चित पनि छ ।

दोस्रो कृतिका रूपमा २०२१ सालमा ‘घोत्ल्याइहरु’ भन्ने समालोचना सङ्ग्रह निस्किएको थियो । उनको सम्पादनमा गोपालप्रसाद रिमालको ‘आमाको सपना’ कविता संग्रह, २०२० सालमा र गुरूप्रसाद मैनालीको ‘नासो’ कथा संग्रह, २०२१ सालमा प्रकाशन भएको थियो ।

भाषाशास्त्री बालकृष्ण पोखरेलले तारानाथको लेखलाई नियात्रा नामकरण गरिदिएका हुन् । त्यसअघिसम्म नियात्रा शब्द प्रयोगमा थिएन भनिएको छ ।

बालकृष्णले रत्नश्रीमा २०२३ सालमा छापिएको तारानाथको ‘मेनाइ साँघुको मेला’ शीर्षक लेख पढेपछि ‘तिमीले नियात्रा लेखेछौ’ भनेको सुन्न पाइन्छ । पछि, त्यही लेखसहितको ‘बेलाइततिर बरालिँदा’ निबन्ध संग्रहको भूमिकामा बालकृष्णले नियात्रा लेखिदिएको बताइएको छ ।
उनले भारत, चीन, जापान, बेलायत, अमेरिका, भूटान, पाकिस्तान, थाइल्यान्ड, लेबनान, टर्की, जर्मनी, इटाली लगायतका देशको भ्रमण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्