Logo
Logo

कांग्रेस पनि एमालेकै लयमा, भन्छ- सभामुखले एमसीसी रोक्न मिल्दैन


3k
Shares

काठमाडौं । नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संसदमा प्रस्तुत गर्न सभामुखले अवरोध गर्न नमिल्ने बताएको छ ।

आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक कुटनीति र पूर्वाधार विकाससँग जोडिएकाले एमसीसी पारित गर्नुपर्ने कांग्रेसले धारणा तय गरेको हो ।

कांग्रेसले भनेको छ– ‘राष्ट्रिय हित, अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक कुटनीति र पूर्वाधार विकाससंग जोडिएको यो संवेदनशील विषय तथा आम चासो र सरोकारको विषय जनप्रतिनिधि संस्था सार्वभौम संसदमा प्रस्तुत र छलफल गराउन सभामुखले कुनै पनि वहानामा रोक्न, आलटाल र अबरोध गर्न मिल्दैन । यो संवेदनशीलतालाई बुझेर तत्कल यो विषयलाई संसदको एजेण्डा बनाउनु सभामुखको जिम्मेवारी हो ।’

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि विगतदेखि नै एमसीसी पारित गर्ने सन्दर्भमा सभामुख बाधक बन्दै आएको आरोप लगाउँदै आएको छ । कृष्णबहादुर महरा सभामुख भएको बेला एमालेले एमसीसी पारित गर्न जोड गरेको थियो । पछिल्लो समय अग्निप्रसाद सापकोटा सभामुख भएपछि पनि एमालेले सभामुखकै कारण एमसीसी सदनमा टेबल नभएको भन्दै आएको छ ।

एमाले र कांग्रेसले संसदमा अनुमोदनका लागि एमसीसी प्रस्तुत गर्न सभामुखका कारण असहज भएको भने पनि सभामुख सापकोटाले भने यसमा आफ्नो भूमिका नरहेको बताइसकेका छन् । सोमबार सर्वदलीय बैठकपछि सभामुख सापकोटाले एमसीसी अनुमोदान गर्ने या नगर्ने भन्ने विषय दलहरुकै निर्णयमा निर्भर रहने बताइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्