Logo
Logo

एमसीसीविरुद्ध माओवादी, सडकमा जनवर्गीय संगठन


1.9k
Shares

काठमाडौं । सत्तारुढ गठबन्धन दलमध्येका एक नेकपा माओवादी केन्द्र एमसीसीविरुद्ध उभिएको छ । आजको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल भएमा माओवादीले विरोध गर्ने भएको छ ।

फाइल फोटो

माओवादीले एमसीसीबारे औपचारिक धाराणा बनाउन अहिले १० बजे संसदीय दलको बैठक बस्दैछ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने बैठकले एमसीसीबारे छलफल गरेर औपचारिक धारणा ल्याउने बताएको छ ।

आजको संसद बैठकमा माओवादी केन्द्रका सांसदहरुले खेल्ने भूमिकाबारे बैठकमा छलफल हुन लागेको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए । तर, त्यसअघि नै एमसीसी संसदमा टेवल गर्न नदिन सडकबाट दबाव दिन आफ्ना सबै जनवर्गीय संगठनहरुलाई निर्देशन दिइसकेको छ ।

पार्टीको निर्देशनअनुसार आज माओवादी केन्द्रका जनवर्गीय संगठनहरुले नयाँबानेश्वरमा प्रदर्शन गर्दैछन् ।
पार्टी अध्यक्ष प्रचण्ड निकट माओवादी केन्द्रका एक नेताअनुसार संसदमा एमसीसी टेबुल हुँदा माओवादी केन्द्रले विरोध जनाउने बताए । उनले माओवादी केन्द्र एमसीसीको विरोधमा रहेको बताए ।

माओवादी केन्द्रले युवा, विद्यार्थी, महिलालगायतका सबै जनवर्गीय संगठनहरुलाई एमसीसीविरुद्ध सडक प्रदर्शनमा उत्रिन निर्देशन दिइसकेको छ । पार्टी केन्द्रको निर्देशन अनुसार आज बिहान ११ बजे नयाँबानेश्वरमा भेला भएर विरोध प्रदर्शन गर्न लागेको वाईसीएलका नेता सुवोध शेर्पालीले बताएका छन् ।

सरकारले आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेवल गर्ने तयारी गरेको छ । यससँगै चौथर्फी विरोध भइरहेको छ । एमसीसीकै विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) लगायतले आह्वान गरेको बन्दको घोषणा गरेको छ । बन्दका कारण उपत्यकालगायत देशभर आंशिक प्रभाव परेको छ ।

प्रतिक्रिया दिनुहोस्