काठमाडौं । चौतर्फी विरोधका बाबजुद सरकारले एमसीसी आजको प्रतिनिधिसभा बैठकमा टेबल गर्ने तयारी गरेको छ । तर, अर्थमन्त्री जनार्दन शर्मा एमसीसी टेबल गर्नबाट पन्छिएका छन् ।
अर्थमन्त्री शर्माको दल नेकपा माओवादी केन्द्र एमसीसी संशोधनसहित पास गर्नुपर्ने पक्षमा छ । माओवादी केन्द्रको आजै बसेको संसदीय दलको बैठकले एमसीसीसीको विपक्षमा उभिने र जबरजस्त संसदमा टेबल गरे सरकार छोड्ने निर्णय गरेको छ ।
यदि आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल भइहाले सरकार प्रवक्ता सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई टेबल गर्ने जिम्मेवारी दिएको स्रोतको भनाइ छ ।
यसअघि नै अर्थमन्त्री शर्माले एमसीसी टेबल गर्न आनाकानी गरेपछि सञ्चारमन्त्री कार्कीलाई टेबल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन् ।
आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित सूचीमा एमसीसी राखिएको छैन । तर, अहिले बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले आजै सूची बनाउने बताइएको छ ।