काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीबीच भेटवार्ता भएको छ ।
बालुवाटार स्रोतका अनुसार बुधबार साँझ प्रधानमन्त्री देउवालाई भेट्न राजदूत बेरी बालुवाटार पुगेका थिए । एमसीसी प्रकरणले राजनीतिबृत्त तातिरहेका बेला राजदूत बेरीले प्रधानमन्त्री देउवालाई भेटेका हुन् ।
भेटमा उनीहरुबीच एमसीसी सम्झौताबारे छलफल भएको र प्रधानमन्त्री देउवाले सरकार संसदबाट एमसीसी अनुमोदन गराउने तयारीमा रहेको बताएको बालुवाटार स्रोतको भनाइ छ ।
सरकारले बुधबार संसदमा एमसीसी टेबुल गर्ने तयारी गरेपछि सत्तारुढ गठबन्धनकै नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीका वर्गीय संगठनलगायतका ६ दलले एमसीसीको विरोधमा प्रदर्शन गरेका थिए । शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल हुने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।
एमसीसी सम्झौताबारे गठबन्धनभित्रै मतभेद कायम छ । एमसीसीबारे निर्णय गर्न आज पाँच बजे गडबन्धन बैठक बस्दैछ । त्यसअघि प्रधानमन्त्री देउवाले एमसीसीबारे नै छलफल गर्न मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक अहिले २ बजे बस्ने भएको छ ।