Logo
Logo
विचार

सित्तैमा पाएको होर यो गणतन्त्र ?


5.9k
Shares

आन्दोलन चर्किरहेको थियो । जुलुस, बन्द–हडताल, धरपकड… । आन्दोलनकारीहरु पक्राउ परिरहेका थिए । चैतको २४ गते एकछिन् त प्रकृति पनि बेस्सरी रिसाएझैं भयो । हुरीबतास, पानी दर्केर फुल्दै गरेका फूल, पात झर्न थाले । चराहरुसमेत भिजेर अत्तालिए । नजिकैको शिवपुरीडाँडा पनि हेर्दाहेर्दै अँध्यारो भयो । आन्दोलनले कस्तो रुप लिने हो कुनै निक्र्यौल गर्न सक्ने अवस्था थिएन ।

चैत २५ गते आन्दोलनरत बुद्धिजीवी नागरिकको भेला थियो, शिक्षण अस्पतालमा । भेलामा सामेल हुन घरबाट निस्क्यौं– सरोज र म । सडकमा डा. विदुर वस्ती पर्खिरहनुभएको थियो । तीन जना हिँड्दै शिक्षण अस्पतालतिर लाग्यौँ । कर्फ्यु लाग्नुअघि नै पुगिसक्नुपर्ने थियो । सडक खालीजस्तै थियो । हतास राजा ज्ञानेन्द्र आन्दोलनलाई दबाउन जुन हदसम्म जान पनि तयार देखिन्थे । त्यो दिन जे पनि हुन सक्थ्यो । हिँड्दा–हिँड्दै मेरो अन्तर्मनले भन्यो– ‘आज आन्दोलनमा जानु भनेको जेल जानु हो, घर नफर्किनु हो !’

देशैभरि आमहडताल छ । सात राजनीतिक दल मिलेर आन्दोलनमा लागेका छन् । सबै पसलहरु बन्द थिए । बाटो हिँड्ने एकदमै थोरै देखिन्थे । हामी तीन जनामा पनि म आफू एक्लो अनुभूत गरिरहेको थिएँ । मेरो मनमा उठेको कुरा बोलुँ भने सहयोद्धाहरुलाई हतोत्साही बनाउने डर, नबोलुँ भने म त आमा पनि हुँ ।

बच्चाहरुलाई एक्लै घरमा छोड्ने बेला अलि भएको थिएन । आधा घण्टाको हिँडाइमा मैले एक्लैले निर्णय गर्नु थियो– म घर फर्कुँ या आन्दोलनमै होमिऊँ ? चक्रपथ नाघ्ने बेला मेरो निम्ति अग्निपरीक्षाजस्तै भएको थियो । जताततै सशस्त्र पुलिसका जत्था देखिन्थे । घरको सँघार नाघेर आएपछि फेरि अर्को ठूलो फलामको ढोका खडा भएझैं भयो, नाघौं या ननाघौं ? नाघ्नु भनेको त्यो दिन घर नफर्किनु हुन्थ्यो । निर्णय गर्न गाह्रो भयो ।

युवावस्थामा क्रान्तिका निम्ति भनेर घर छोडेर भूमिगत हुन त्यति गाह्रो भएको थिएन । ठूली छोरी सानै हुँदा उसलाई च्यापेर अपरिचित ठाउँमा अनिश्चित भविष्य लिएर पस्दा पनि गाह्रो लागेको थिएन । तर यतिबेला भने ती बच्चाहरुकै कारण गाह्रो लागिरहेको थियो । मनको कुरो बुझेँझैँ गरी सरोजले भन्यो– ‘तिमी घर फर्क’ ।

दुईजना डाक्टरहरुले बाटो क्रस गरेपछि म एकछिन उभिएर हेरिरहेँ… । अनि एक्लै फर्केँ घर ।

साँझ त समाचारमा सुनिहालेँ, टिभीमा पनि देखेँ– शिक्षण अस्पतालमा कर्फ्युको अवज्ञा गर्ने २४ जना आन्दोलनकारी गिरफ्तार भएको कुरा ! तीमध्ये कोही पुलिस् भ्यान् चढ्दै नारा लगाउँदै थिए । तर सरोजलाई देखिन, मन चिसो भयो । मानसिकरुपमा आफू तयार नै भएकाले खासै अचम्म त लागेन, चिन्ता बेस्सरी लाग्यो । कस्तो ठाउँमा लगेर राख्ने होला ? जेलहरु सबै भरिभराउजस्तै भइसकेको छ । बेलुकी खान मन लागेन । रातभरि सुत्न पनि सकिनँ…।

भोलिपल्ट बिहानैदेखि ज–जसको घरबाट हिँडेका मान्छे फर्केनन्, ती घरका परिवारबीच फोनमा कुरा हुन थाल्यो । थाहा भयो– ‘एकै ठाउँबाट २४ जना लगेकोमा आठ जना त डाक्टर नै परेछन् ।

सरोजलगायत ती २४ जनामा कोही मैले राम्रैसँग चिनेका, कोही अप्रत्यक्ष मात्र चिनेका र कोही भने चिन्दै नचिनेका पाका र युवा पनि रहेछन् । ती थिए– पद्मरत्न तुलाधर, दमननाथ ढुंगाना, मल्ल के सुन्दर, लक्ष्मण अर्याल, डा. सुन्दरमणि दीक्षित, डा. भरत प्रधान, डा. विदुर वस्ती, डा. मधु घिमिरे, डा. महेश मास्के, डा. शरद वन्त, डा. रोशन झा, डा. सरोज धिताल, कपिल श्रेष्ठ, चरण प्रसाईँ, कनकमणि दीक्षित, शान्ता दीक्षित, केदार शर्मा, विमल अर्याल, अनुभव अजित, अर्जुन पराजुली, रमेश भट्टराई, भाष्कर गौतम, ईश्वर कोइराला, राजेन्द्र राई ।

ती सबैलाई रातभरि पुलिस क्लबमा राखेर भोलिपल्ट बिहानै फेरि अर्को ठाउँमा सारेछन् । भक्तपुरको दुवाकोट सशस्त्र पुलिसको ब्यारेकमा छन् भन्ने कुरा पछि मात्र थाहा भयो ।

सबैजना एकैठाउँमा भनेकोले चिन्ता अलि कम त भयो । तर बहुलाउँदै गएको सरकारले भित्रभित्र जे पनि गर्न सक्छ भन्ने डर पनि छँदै थियो । मैले अलि चिन्ता लिएको जस्तो देखियो कि सानी छोरी सम्झाउने गर्थी ‘मामु धेरै चिन्ता नलिनु है ! वी आर प्राउड अफ बुवा …’ भनेर । म पो उनीहरुको अगाडि बच्चा जस्तो भएछु त्यतिबेला ।

पाँच वर्षबीच दोस्रोपल्ट देशमा यति ठूलो घटना भइरहेको थियो । २०५८ जेठमा राजदरबार काण्ड हुँदा सरोज अमेरिकामा थियो । भर्खर सरेको नयाँ ठाउँमा म र बच्चाहरूमात्र थियौँ । आफन्तहरु टाढा । साथमा पैसा छैन । एकैपल्ट अनिकाल, हाहाकार, अनिश्चय ! मनमा प्रश्नै प्रश्न– देश के हुने होला भनेर । त्योबेला पनि बच्चाहरुसँग एक्लै थिएँ । अहिले पनि केटाकेटीहरु मात्र थिए साथमा ।

युवावस्थामा क्रान्तिका निम्ति भनेर घर छोडेर भूमिगत हुन त्यति गाह्रो भएको थिएन । ठूली छोरी सानै हुँदा उसलाई च्यापेर अपरिचित ठाउँमा अनिश्चित भविष्य लिएर पस्दा पनि गाह्रो लागेको थिएन । तर यतिबेला भने ती बच्चाहरुकै कारण गाह्रो लागिरहेको थियो । मनको कुरो बुझेँझैँ गरी सरोजले भन्यो– ‘तिमी घर फर्क’ ।

त्यो राजदरबार काण्डका बेला पनि खर्च गर्न केही बाँकी थिएन । भर्खरै घर सरेकोले, पैसाको बन्दोबस्त गर्न भनी बागबजारको मोडल अस्पताल पुगेर फर्किरहेकी थिएँ । त्यतिबेला पनि हात्तीगौंडा घर फर्कनलाई कुनै गाडी भेट्ने कुरै थिएन । धन्न सरोजले छोडेको मोबाइल मैले बोकेको थिएँ । घरमा बच्चाहरुलाई फोन गर्दा त्यतिबेला ठूली छोरीले सम्झाएकी थिइँ– ‘बाटो बन्द भए उतै कतै बस्नु, हाम्रो चिन्ता नलिनु मामु’ भनेर । तर मैले कसरी छोड्न सक्थें र ! जसरी पनि फर्किनु नै थियो ।

त्यसकै चार वर्षपछि नै परिवर्तनको गम्भीर मोडमा पुगेको थियो देश । र, उसको प्रसव पीडा आफैले भोगेको जस्तो महसुस भैरह्यो । बेलाबेलामा भोगेको छ देशले यस्तो पीडा र उसका असंख्य सन्तान– जनताले– उसँगै भोगेका छन् त्यो पीडालाई ।

उज्यालोको सपना बोकेर समाजलाई अगाडि धकेल्ने यज्ञमा लागेका ती लाखौँ जनताका बीचमा हामी त सानो अंश मात्रै त हौँ ! कैयौँ जनताका योगदान हाम्रोभन्दा हजारौँ गुना बढी गर्व गर्न लायक छन्, भोगाई हाम्राभन्दा धेरै कहाली लाग्दा छन् । कतिले जीवननै दिइसकेका छन् !

सित्तैमा पाएको हो र यो गणतन्त्र ? लोकतन्त्र र सामाजिक न्यायको हाम्रो यात्राले अझै पनि यसरी नै बाटो हराइरहनु कसरी स्वीकार्य हुन्छ र ? दिशावोधका बारे गम्भीर हुन र गल्ती सच्याउन अब त ढिलो नै भइसकेन र ?

प्रतिक्रिया दिनुहोस्