कपिलवस्तु । नेकपा एकीकृत समाजवादी कपिलवस्तुको छैँठौ सचिवालय बैठकले ६ जनालाई साधारण सदस्य नरहनेगरी निष्काशन गरेको छ ।
पार्टी कार्यालय तौलिहवामा बसेको बैठकले निवर्तमान सचिव सवेन्द्रदेव खनालसहित जिल्ला सदस्यहरु अजय पाण्डे, विनोद भट्टराई, सन्तोष पाण्डे र भीमप्रसाद भट्टराई सहितका नेतालाई साधारण सदस्य नरहनेगरी निष्काशन गरेको एकीकृत समाजवादी कपिलवस्तुको प्रचार विभागले जनाएको छ । उनीहरु हालैमात्र नेकपा एमालेमा प्रवेश गरेका थिए ।
यस्तै, बिहीबारको सचिवालय बैठकले दुई जनालाई जिल्ला कमिटीमा मनोनित गरेको छ । पुराना बामपन्थी नेता डिल्लीराज अर्याल र युवा नेता कमल बेल्वासेलाई जिल्ला कमिटीमा मनोनित गरिएको हो ।
यस्तै जिल्ला कमिटी सदस्य जगतमान केसी र निशा सिग्देललाई जिल्लाको सचिवालयमा मनोनित गरिएको छ । दुई जना सचिवालय मनोनित गरेसँगै नेकपा एकीकृत समाजवादीको सचिवालय सदस्यको संख्या १५ सदस्यीय भएको छ ।